कक्षा–११ मा नयाँ व्यवस्था, संकाय छुट्याउन नपाइने


७ भाद्र २०७७, आईतवार
student 2

काठमाडौं, ७ भदौं । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए । उनले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए ।

यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक–एक विषय ऐच्छिक गरी ६ वटा विषय अध्यापन गराइन्छ ।

विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो । एकल पथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना हुँदैन र पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ ।

कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७