चीन फर्किन नपाउँदा चिकित्सा शिक्षा पढिरहेका पाँच सय नेपाली विद्यार्थीको भविष्य अन्योलमा


९ भाद्र २०७७, मंगलवार
nurse ykOrTwf4eQ

काठमाडौं, ९ भदौं । विराटनगरकी अश्मी रानामगर चीनको आन्हुई प्रान्तस्थित आन्हुई मेडिकल युनिभर्सिटीमा एमबिबिएस इन्टर्नसिप गर्दै थिइन् ।

गत माघमा जाडो बिदामा घर आएकी उनी चीनमा कोरोना संक्रमण फैलिएपछि यतै रोकिइन् । उनीसँगै अध्ययनरत अन्य मुलुकका विद्यार्थी चीन फर्किसक्दा उनी भने चीन उड्ने दिनको प्रतीक्षामा छिन् ।

md

झापा बिर्तामोडका आशिष राई पनि जाडो बिदामै घर आएका थिए । उनी पनि गुआङ्सी प्रान्तको युजियाङ मेडिकल युनिभर्सिटीमा एमबिबिएस इन्टर्नसिप गर्दै थिए । ‘चीन फर्किन नपाउँदा पढाइ छुटिसकेको छ, नेपाल मेडिकल काउन्सिलले चीनमै प्राक्टिस गरेको प्रमाणपत्र नभई हाम्रो अध्ययनलाई मान्यता दिँदैन । अब हामीले के गर्ने ?’ उनी प्रश्न गर्छन् । प्रमाणपत्र नल्याई काउन्सिलले उनीहरूलाई लाइसेन्स दिँदैन ।

साङ्सी प्रान्तको सियान जिआओटोनु युनिभर्सिटीमा सर्जरीमा एमडी गरिरहेका चितवनका एंगेल्स न्यौपाने र तियान्जिङ मेडिकल युनिभर्सिटीमा सर्जरीमै एमडी अध्ययनरत काठमाडौंका डा. सुब्रत शर्मा पौडेल पनि जाडो बिदामै घर आएका हुन् । त्यस्तै, काठमाडौंकी डा. रश्मी महर्जन पनि बेइजिङस्थित क्यापिटल मेडिकल युनिभर्सिटीमा अब्स्ट्रेटिक एन्ड गाइनोकोलोजीमा एमडी अध्ययनरत थिइन् । उनीहरू सबै यतै अड्किँदा उता युनिभर्सिटीको पढाइ छुटेको छ ।

न्यौपानेका अनुसार चीनमा अध्ययनरत नेपालमै अड्किएका करिब पाँच सय विद्यार्थी छन् । तीमध्ये तीन सय एमबिबिएस र दुई सय एमडी अध्ययन गरिरहेका छन् । उनीहरूमध्ये कतिपय जाडो बिदामा घर आएका थिए भने कतिपय चीनमा कोभिड– १९ ले महामारीको रूप लिएपछि फर्केका थिए । जाडो बिदामा पनि चीनमै बसेका विद्यार्थी भने गत जुलाईमै पढाइ सकेर स्वदेश फर्किसकेका छन् । ‘चीन फर्किन नपाएर हाम्रो भविष्य भने संकटमा पर्‍यो,’ न्यौपानेले भने ।

नेपाल मेडिकल काउन्सिलले सैद्धान्तिक कोर्स र थेसिस अनलाइनबाटै पूरा गर्न सकिने, तर प्राक्टिस गर्न सम्बन्धित युनिभर्सिटीमै जानुपर्ने निर्णय गरेको छ ।

‘स्वदेशमा तथा विदेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका, तर कोभिड– १९ महामारीका कारण साबिक अध्ययनमा निरन्तरता हुन नसकेका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीको अध्ययन मान्यताका विषयमा नेपाल मेडिकल काउन्सिलमा विभिन्न माध्यममार्फत सोधपुछ तथा निवेदन प्राप्त भएकाले यस विषयमा काउन्सिलले ०७७ वैशाख १७ गतेको बैठकले ‘सैद्धान्तिक कक्षाको पढाइबारे सम्बन्धित कलेज विश्वविद्यालयले व्यवस्था गरेबमोजिम हुने, तर प्रयोगात्मक र अस्पतालमा गई बिरामीको हेरचाह गर्नुपर्ने विषयमा कलेज अस्पतालमा उपस्थित भई पूर्ववत् हाजिर भएर गरिएको अध्ययनलाई मात्र मान्यता दिने’ भनी निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ काउन्सिलले २३ वैशाखमा जारी गरेको सूचनामा उल्लेख छ ।

एमबिबिएस अध्ययनरत विद्यार्थी आफ्नै खर्चमा चिनियाँ विश्वविद्यालयमा पढिरहेका छन् । एमडीका विद्यार्थीले छात्रवृत्ति पाएका छन् । उनीहरूका अनुसार चीनमा एमबिबिएस अध्ययन गर्न ५० लाख र एमडीका लागि करिब ६० लाख खर्च हुन्छ ।

छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले तीनवर्षे अवधि गुज्रिएमा आफै खर्च गर्नुपर्छ । ‘चाँडै चीन फर्कन नपाउँदा थप एक वर्षका लागि २० लाखसम्म खर्च हुन्छ,’ न्यौपानेले भने । एमडी गरिरहेकामध्ये कतिपयले दुई वर्ष सात महिना अध्ययन गरिसकेका छन् ।

अन्य मुलुकका विद्यार्थी चीन फर्किन थालेपछि उनीहरूले पनि काठमाडौंस्थित चिनियाँ दूतावासमा भिसाका लागि आवेदन दिए । तर, दूतावासका अधिकारीले नेपाल सरकारको सिफारिस लिएर आउन भने ।

सोहीअनुसार परराष्ट्र मन्त्रालय पुगे । परराष्ट्रले शिक्षा मन्त्रालमा पठायो । ‘तर, शिक्षाबाट फाइल अगाडि नबढ्दा भिसा प्रक्रिया नै सुरु हुन सकेन,’ न्यौपानेले भने, ‘सरोकारवाला सबै निकायमा निवेदन दिएका छौँ, तर हुन्छ–हुन्छ मात्रै भन्छन्, काम गर्दैनन् ।’

चिनियाँ दूतावासले उनीहरूलाई परराष्ट्र मन्त्रालयबाट पत्र ल्याउनु भनेको छ । तर, मन्त्रालयले पत्र नै नदिएको विद्यार्थीको गुनासो छ । उनीहरूले परराष्ट्र र शिक्षा मात्र नभई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रपति कार्यालयमा पनि चीन फर्किन पहलका लागि निवेदन दिएका छन् ।

‘कोरोना संक्रमणका कारण सिंहदरबार जान पनि रोक छ, फोनमा कुनै रेस्पोन्स नै हुँदैन । हामी धेरै तनावमा छौँ, हाम्रो भविष्य के होला ?’ विराटनगरका आशिष राई भने ।

आफूहरूलाई सरकारले चाँडो चीन फर्काउँदा देशकै लागि जनशक्ति तयार हुने साउदर्न मेडिकल युनिभर्सिटी ग्वान्जाओमा एमबिबिएस अध्ययनरत भक्तपुरका लक्ष्मीराज घिमिरे बताउँछन् । ‘महामारीमा डाक्टरहरू उत्पादन गर्न प्रोत्साहन गर्नुको साटो सरकारबाटै हामीलाई उल्टै हतोत्साहित गर्ने काम भइरहेको छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७