हङकङको महावाणिज्यदूतमा उदय रानामगर


९ भाद्र २०७७, मंगलवार
udaya rana magar

काठमाडौं, ९ भदौ । सरकारले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङका महावाणिज्यदूत नियुक्त गर्ने भएको छ । हाल झापाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रानामगरलाई मकाउ समेत हेर्ने गरी महावाणिज्यदूतमा नियुक्तीको तयारी गरेको हो ।

यसका लागि मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले रानामगरलाई गृहबाट परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ । राना मगरलाई परराष्ट्र मन्त्रालयको प्रस्तावमा अर्को मन्त्रिपरिषद बैठकले महावाणिज्यदूत नियुक्ति गर्ने एक मन्त्रीले बताए । उनले भने, ‘उहाँ महावाणिज्यदूतमा नियुक्त भइसक्नुभयो भन्दा पनि हुन्छ । प्रक्रियाको लागि आज परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।’

रानामगरले यसअघि गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन्। नेपाल आदिवासी जनजाती महासंघ हङकङले आदिवासी जनजाति समुदायका महावाणिज्यदूत पठाउन माग गर्दै लामो समयदेखि आन्दोलनसमेत गरिरहेको थियो।

यस पटक भने सरकारले महासंघको माग सम्बोधन गरेको भन्दै महासंघ हङकङका अध्यक्ष किसन राईले खुसी व्यक्त गरे । उनले भने,‘हाम्रो भावना र मनोविज्ञान बुझीदिएकोमा हामी असाध्यै खुुसी छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७