विदेश अध्ययन गर्न जानेलाई ‘नो अब्जेक्सन लेटर’ दिने सरकारको निर्णय


१० भाद्र २०७७, बुधबार
education

काठमाडौं, १० भदौं । सरकारले उच्च शिक्षा अध्ययनका लागि विदेशमा जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ ।

विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएको छ ।
विदेश अध्ययनका लागि विद्यार्थीहरुको रोजाइमा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, चीनलगायतका देश पर्दछन् । नो अब्जेक्सन लेटर लिनेहरुको संख्या हरेक वर्ष बढ्दो छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार हरेक वर्ष विदेश अध्ययन गर्न जान चाहने झण्डै एक लाखले ‘नो अब्जेक्सन लेटर’ लिँदै आएका छन् ।

‘कोभिडको अवस्थाका कारण हवाइ उडान हुन नसकेको अवस्थामा विद्यार्थी विदेश जान पाएन भने पनि सम्बन्धित व्यक्ति जिम्मेवार हुनेछ’, स्रोत भन्छ, ‘अहिले विद्यार्थी जुन देशमा जान खोजेको छ । त्यो देशमा जाँदा संक्रमण दर बढ्यो र नेपाल फर्किनुपर्यो भने नेपाल सरकारले प्राथमिकता दिएर ल्याउने अवस्था छैन ।’

उनले अहिले विदेश गएको विद्यार्थी तत्काल नेपाल फर्किन चाहे पनि सरकारले आफै खर्च गरेर ल्याउँदैन, विद्यार्थी आफै खर्च गर्नुपर्ने शर्तको विषयमा मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए । मन्त्रिपरिषदको २०७६ फागुन २९ गतेको बैठकले कोभिड १९को संक्रमण बढेको भन्दै एनओसी दिन बन्द गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७