उपत्यकामा एकै दिन थपिए ३७७ जना कोरोना संक्रमित


११ भाद्र २०७७, बिहीबार
kathmandu valley 2nd ring rode

काठमाडौं, ११ भदौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) एकै दिन ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

बुधबार उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका एक हजार १११ जना कोरोना संक्रमितमध्ये ३७७ जना काठमाडौं उपत्यकाका हुन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (बिहीबार) सम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २१० रहेका छन् । आजसम्म देशभर ९ हजार ४८८ जना क्वारेन्टिनमा छन् ।

बागमती प्रदेशमा १३ जना र प्रदेश १ मा एकजना भेन्टिलेटरमा रहेका छन् । देशभर १५१ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ६० जना रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

शनिबार देशभर ११ हजार ५१९ जनाको पीसीआर परीक्षणका क्रममा ६३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी यस अवधिमा १३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

आइतबार गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने २८१ जना संक्रमणमुक्त भएका थिए । आइतबार कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

सोमबार गरिएको १० हजार २३४ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनाको कोरोना पोजेटिभ देखिएको थियो भने १७५ जना डिस्चार्ज भएका छन् । सोमबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो ।

मंगलबार देशभरका ३९ प्रयोगशालामा भएको ११ हजार ३२७ पीसीआर परीक्षणका क्रममा ८५५ जनाको पीसीआर पोजेटिभ आएको थियो । मंगलबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको पुष्टि भएको थियो । त्यसैगरी ३१३ जना डिस्चार्ज भएका थिए ।

बुधबार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बुधबार देशभरका अस्पतालहरुबाट ३८५ जना डिस्चार्ज भएका थिए । बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७