अख्तियार दिवसकै भोलिपल्ट प्रमुख आयुक्त रिक्त


२२ माघ २०७४, सोमबार

दीप बस्नेतको कार्यकाल ६ दिनमात्र बाँकी

काठमाडौं, २२ माघ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको पदावधि अब ६ दिनमात्र बाँकी छ । माघ २८ मा अख्तियार दिवस पर्छ । त्यसकै भोलिपल्ट माघ २९ मा उनी ६५ बर्षे उमेर हदका कारण अख्तियारबाट बिदा हुँदैछन् । उनलाई अख्तियारले माघ २९ मा बिदाइ कार्यक्रम राखिसकेको समाचार छ । माघ २९ बाट अख्तियारको प्रमुख आयुक्त पद रिक्त हुनेछ । प्रमुख आयुक्तका लागि बरिष्ठताका आधारमा आयुक्त नवीन घिमिरे हुने अनुमान गरिएको छ । Akhatiyar अख्तियार दुरुपयोग

संवैधानिक निकायका पदाधिकारीहरु ६५ बर्षको उमेरसम्म काम गर्न पाउँछन् । ३ महिना कार्यवाहक प्रमुख आयुक्त र ९ महिना प्रमुख आयुक्तको रुपमा बस्न्यातले अख्तियारमा काम गर्ने मौका पाए । तत्कालीन प्रमुख आयुक्त लोकमानसिंंह कार्कीको डिजाइनमा सुशील कोइराला सरकारमा राप्रपाबाट बाणिज्य तथा आपूर्ति मन्त्री रहेका सुनिलबहादुर थापाको कोटामा बस्न्यात आयुक्त नियुक्त भएका थिए ।

नवीन घिमिरे, डा. गणेश जोशी, सावित्री थापा गुरुङ र तत्कालीन आयुक्त केशव बराल लोकमानका मनपरी निर्णयमा साथ नदिने देखेर दीप बस्नेतलाई ल्याउन उनले पृष्ठभूमिबाट भूमिका खेलेका थिए । नभन्दै पछिल्लो कालखण्डमा लोकमानले अख्तियारको अस्मिता नै सिध्याउनेगरी अगाडि बढ्न खोज्दा आयुक्तहरु घिमिरे, जोशी र गुरुङ उनका कदमको पक्षमा रहन सकेनन् ।

दीप बस्न्यात र राजनारायण पाठकले उनलाई पूर्ण रुपमा सहयोग गरे । पछि लोकमान नबच्ने भएपछि दीप बस्न्यात एकाएक अरु आयुक्तहरुसँग मिल्न पुगे । र, प्रमुख आयुक्त नहुन्जेल उनी आयुक्तहरुसँग सरसल्लाहमा चल्न थाले । जब प्रमुख आयुक्त भए, उनी पनि लोकमानकै शैलीमा अपारदर्शी रुपमा चल्न थाले ।

ठूला उजुरी आफ्नै घर्रामा राख्ने र छोरा कमल बस्नेत, अख्तियारका आफ्नै जिल्लाबासी सहन्यायाधीवक्ता शंकर खत्री र पीए लक्ष्मण बाँस्तोलामार्फत् डिल गर्न थाले । जसरी लोकमानले सम्धी रोहिणी थपलिया, ज्वाई सुभाशिष थपलिया र डीएसपी दानबहादुर थापा, गोबद्र्धन श्रेष्ठहरुलाई डिल गर्न लगाउँथे, त्यही शैलीमा दीप बस्न्यातले छोरा कमल, सहन्यायाधीवक्ता खत्री र बाँस्तोलाहरुलाई उपयोग गरे । अख्तियारमा खत्री र बाँस्तोलालाई छायाँ प्रमुख आयुक्तका रुपमा लिने गर्दछन् । बस्न्यात र बाँस्तोलाको पुख्र्यौली घर खोटाङ नै हो । बस्न्यातहरु पछि उदयपुर झरेका हुन् । बस्न्यातले १ नम्बर महाशाखा अन्तर्गत सबै महत्वपूर्ण मन्त्रालय राखेर त्यसको प्रमुख आफैंलाई बनाएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, गृह, संचार, अर्थ मन्त्रालय १ नं महाशाखाले हेर्नेगरी विभाजन गरेका थिए । त्यो महाशाखाको सबै जिम्मा शंकर खत्रीलाई दिएका थिए । ठूला उजुरी दूरसंचार प्राधिकरणदेखि सडक आयोजनाको ८४ अर्बको ठेक्कामा भएको नीतिगत भ्रष्टाचारमा उनले डिल गरेको कुरा त नयाँपेज डटकमले यसअघि नै उजागर गरिसकेको छ ।

याे पनि पढ्नुहाेस्

को होला अख्तियारको प्रमुख आयुक्त ?

अख्तियार प्रमुख आयुक्तका पिए नै अर्बपति

अख्तियारभित्रै अख्तियारको दुरुपयोग

 

प्रमुख आयुक्त बस्नेतले १ बर्षे कार्यकालमा आफ्ना भाइ नरेन्द्र बस्नेतलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अयक्षमा नियुक्त गराए । नियुक्ति गराएरमात्र नपुगी भाइलाई कमाउधन्दा गर्नका लागि अर्थमन्त्रालयबाट २ अर्ब रुपैयाँ बजेट हाल्न दबाब दिए । नमानेपछि बजेट महाशाखा प्रमुख केवल भण्डारीलाई १३ पन्ने भर्न लगाएको कुरा समेत सार्वजनिक भइसकेको छ । यी केही उदाहरण हुन्, प्रमुख आयुक्त भएको ९ महिनामा बस्न्यातले ठूला उजुरीमा ठूलै मोलतोल गरेका एकएक विवरण अब खुल्दै जानेछन् । उनले इम्बोष्ड नम्बर प्लेटको ठेक्कादेखि धेरैमा चलखेल गरेको अख्तियार स्रोत बताउँछ ।

उनले अख्तियारमा बसेर अथाह लाभ लिइसकेपछि सवैधानिक अंगका पदाधिकारीको उमेर हद ६५ बर्षबाट बढाएर ७० बर्ष बनाउन पनि निकै कसरत गरे । तत्कालीन मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उनको यो प्रस्ताव कार्यान्वयन हुन नदिएको आक्रोस उनलाई बयान लिन बोलाएर पूरा गर्न समेत उनले भ्याए । क्षेत्रीलाई मुद्दा चलाउने उनको मनसुवा भने पूरा हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७