सनाखत (कविता)


१३ भाद्र २०७७, शनिबार
rp


यसैपाल ६० लागिन् रमिते काकी
सुनी पठाइन् सरकारले दिने भत्ता
गइन् गापाको कार्यालय
बकिन् सात पुस्ते सम्बन्ध
बिना नागरिकता कण्ठस्थ पारेको
दुई फुटे फाराममा ।
‘सचिव : तपाईको नाम ?
काकी : रामिते काकी
सचिव : लेख्ने नाम चाई ?
काकी : आइलेसम्मन् लेख्नु परेकै थेना
सचिव : नागरिकता नि !
काकी : सारकारी सेनाले घारमा आगो लौंदा खुलबिन्दे भो
सचिव : बाबुको नाम ?
काकी : पल्टनमै मोरी गो’को
सचिव : आमाको नाम ?
काकी : सात सालाँ पञ्चेले काटी मारेको
सप्पैले पल्टने जेठी भनी पठाङ्थ्यो रे !
सचिव : लोग्नेको नाम ?
काकी : रामिते काका भन्थ्यो गौंमा
सचिव : कहाँ छन् ?
काकी : माउवादीले लेर गो’को
आइलेसम्म फर्केकै छैना ।
सचिव : परिवार संख्या ?
काकी : आठ जाना ।
तीन छरी तीन छरा ।
जेठी उइले फच्चा गई पठायो
माइलीचन् सुँगुँर चारो लेर औंङ्दा
बाटोमै सारकारी लुगा लौंङनेओरले
गार्नु नागार्नु गरी मारी पठायो ।
सानु छरी कक्रोमा सुताई राखेको ठौंमा
सारखारको मान्छेले
घारमा आगो लौङ्दा डढी पठायो ।
जेठो छरा बाबुसँगै गो’को छ
मइलाचन् आनिकालमा मोर्‍यो
आनि कान्छो छराचन् जन्मिनु नपाई
साइनिकले लात्ताले बेसमारी
मेरो पेटमा बजाङ्दा तीन मैनामै
तुही पठाको हाजुर !
आइले म मात्तै छ ।.
आरेन् ! च्याँठा

आबो त पाङ्छ’ हला नि भात्ता ?’
राज्य !
माथिको विवरणले सनाखत भयो कि भएन
रमितेनी काकीको ?
विवरणका आधारमा
पाउँछिन् कि पाउँदिनन् वृद्ध भत्ता ?
कहिले सार्वजनिक गर्छ ?
राज्यले रमिते काकाको
कहिले पुष्टि हुन्छ मरे-बाँचेको जेठा छोराको ?
कुनै अनुदान आउँछ कि
पुनः घर ठडिन्छ न्यायका नाउँमा
रमितेनी काकीको ।
राज्यबाटै प्रमाण हराइ दिएपछि
थप के प्रमाण चाहिन्छ महोदय !
थप प्रमाणका लागि ।
अब बाँकी सोध्नु छ कि सकियो
रमितेनी काकीहरू जस्ताको सनाखत हुन ?
आरपी गाउँले
आठराई २ तेह्रथुम

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७