हप्तौंसम्म हुँदैन कन्ट्रयाक्ट ट्रेसिङ


१५ भाद्र २०७७, सोमबार
korona 1 1

काठमाडौं, १५ भदौं । काठमाडौंको डल्लुका ५४ वर्षीय पुरुषलाई भदौ ७ मा कोरोना संक्रमण पुष्टि भयो । रिपोर्ट पोजिटिभ आएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले उनलाई अस्पताल जानका लागि तयार रहनु भन्दै बिहानै फोन गरे ।

परिवारले उनलाई घरमा छुट्टै कोठामा सावधानीपूर्वक राखे र ईडीसीडीबाट एम्बुलेन्स आउने पर्खाइमा बसे । ‘बुवालाई संक्रमणको लक्षण देखिइसकेको थियो । उच्च ज्वरो र खोकी थियो । उहाँ मधुमेहको बिरामी समेत हुनुहुन्थ्यो,’ संक्रमितकी छोरीले भनिन्, ‘दिनैभर एम्बुलेन्स आएन । बेलुकातिर मात्रै अस्पताल लगे ।’ संक्रमितलाई अस्पताल लगिएको एक साता बित्यो, उनको परिवारको कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षण भने गरिएको छैन ।

ती संक्रमितको घरमा ११ जना छन् । एक जना क्यान्सरकी बिरामी पनि छिन् । घरमा भएका दुई जनालाई ज्वरो र खोकी लागिसकेको संक्रमितकी छोरीले बताइन् । ‘घरमा खानेकुरा छैन । हामीलाई छिमेकीले बाहिर निस्कन पनि दिएका छैनन्,’ उनले भनिन्, ‘ईडीसीडीमा फोन गर्दा वडामा भन्नू भन्छन् । वडामा फोन गर्दा अहिल्यै आउँछौं भन्छन् । तर, कोही आउँदैनन् । कहिलेसम्म हामी डरैडरमा घरभित्र थुनिएर बस्ने हो ?’

काठमाडौं वडा नम्बर २३ का ३५ वर्षीय पुरुषलाई साउन ३१ मा कोरोना संक्रमण पुष्टि भयो । कन्ट्रयाक्ट ट्रेसिङ नभएपछि उनको परिवारका १० जनाले आफ्नै खर्चमा पीसीआर परीक्षण गरे । ‘घरमा आमा थाइराइड र मधुमेहकी बिरामी हुनुहुन्छ । भेटघाट भई राख्नुभएका ५७ वर्षीय ससुरालाई उच्च रक्तचापको समस्या थियो । जोखिम हुन्छ भनेर डर लाग्यो तर ट्रेसिङ हुँदै भएन । अनि कुपन्डोलस्थित विध ल्याबमा जनही ४५ सय तिरेर आफैं परीक्षण गरायौं,’ ती पुरुषले भने ।

उनको घरमा १० जनाको परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आयो । स्थानीय तहको ट्रेसिङ टोलीले भने १० दिनपछि मात्रै उनीहरूलाई फोन गरेर स्वाब संकलन गराउने बताए । ‘स्वाब संकलन गर्न पनि कोही आएन । घरमा भाडामा बस्नेहरूले वडामा पुगेर आफैं स्वाब दिए,’ उनले भने ।

‘ट्रेसिङमा परेका मान्छे घरबाहिर निस्केर आफैं परीक्षण गराउन, रिपोर्ट लिन जानुपर्ने अवस्था छ, कस्तो लापरबाही हो ?,’ उनले भने । लक्षण नभएका संक्रमित घरमै बसे पनि वडाबाट कहिल्यै फोन नगर्ने, बिरामीको अवस्थाबारे नसोध्ने गरेको उनले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७