‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ लाई सर्प पाल्न ७२ करोड अनुदान


१७ भाद्र २०७७, बुधबार
jhalanath khanal

सर्लाही, १७ भदौं । सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ ।

प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि प्रतिष्ठानले तीन वटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए ।

सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ ।

सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको सो प्रतिष्ठानले सर्लाहीको लालबन्दी नगरपालिका–१ मा साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार सर्प पाल्नका लागि प्रतिकठ्ठा रु साढे ३ लाखका दरले टेण्डरमार्फत खरिद गरिएको उक्त जग्गामा तीनै तहका सरकारको लगानी छ ।

सम्झौता बमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवन समेत बनाउन लागिएको अध्यक्ष पन्तले बताए । असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उहाँको भनाइ छ । उनका अनुसार अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने छ ।

शुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको अध्यक्ष पन्तले बताए ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले २०७० सालको संविधानसभाको चुनाव सर्लाहीबाट पनि लडेका थिए । नेता खनालको चुनावी प्रचारप्रसारका क्रममा विषालु सर्पले टोकेर उपचार नपाई एक जनाको मृत्यु भएको थियो । नेता खनालले सर्लाहीको चुनाव प्रचारका क्रममा उक्त घटना बारे थाहा पाए ।

त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखेर २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को स्थापना भयो । अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७