गोर्खाहरुप्रतिको उच्च सम्मान : बेलायतमा भिसी पुनको नाममा रेल सेवा


१७ भाद्र २०७७, बुधबार
vc tul bahadur pun

लण्डन । बेलायतको एक रेल सेवाले भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको सम्मानमा रेलसेवाको नामकरण गर्ने भएको छ ।

बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेले शहरहरु जोड्ने एक सेवालाई भिसी पुनको नाममा नामकरण गर्ने घोषणा गरेको छ ।

नामकरण समारोह यस वर्षको रिमम्बरेन्स डे (नोभेम्बर ११) मा हुने बताइएको छ । दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा सो नामकरण गर्न लागिएको ग्रेट वेष्टर्न रेलवेले बताएको खबर बेलायतबाट प्रकाशित वि नेपाली अनलाइनले लेखेको छ ।

ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सले भने, ‘यस वर्ष दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षगाँठ विशेषरुपमा मनाउँदैछौँ । हामीले यसअघि नै युद्धका जासुस ओडेट हालोजलाई सम्मान गरिसकेका छौँ र यसवर्ष हामी अरु विशेष नामकरणसहित मनाउनेछौँ,’ उनले भने, ‘भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।’

भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयुद्धमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक दिइएको हो ।गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।

गोरखा वेलफेयर ट्रष्टका आडम बेन्थामले भने, ‘ गोरखा सैनिकहरुले पूर्वी क्षेत्रको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सात वटा भिक्टोरिया क्रस पाएका थिए ।’ तीमध्ये भिसी तुलबहादुर पुन पनि एक थिए । ”हाम्रो देशले गोरखाहरुको धेरै ऋण तिर्नुछ र भिसी तुलबहादुर पुनको बहादुरीलाई यसरी सम्मान गरिनु सच्चा सम्मान हो”, उनले भने ।

गोरखा वेलफेयर ट्रष्टका संरक्षक जोअना लुम्लेले भनिन्, ‘म भिसी लछिमन गुरुङ र तुलबहादुर पुन जसले बर्मामा मेरा पिताजीसित लडे उनीहरुसितको भेट कहिल्यै बिर्सदिनँ । हाम्रो स्वतन्त्रताको रक्षाका लागि नियमित ड्यूटीभन्दा माथि उठेर लड्ने गोरखाहरुप्रति हाम्रो ठूलो ऋण छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७