खाद्य कम्पनीको चामल खरिदमा चलखेल, भण्डारण गरिएको चामल गुणस्तरहीन


१८ भाद्र २०७७, बिहीबार
nepal khadya tatha byapar company 696x522 1

काठमाडौं, १८ भदौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको चामल कम गुणस्तरको पाइएपछि खरिद प्रक्रियामै आशंका सिर्जना भएको छ ।

वार्षिक कार्यक्रमअनुसार नै कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गर्न थालेको हो । व्यापार कम्पनीका केही कर्मचारीको मिलेमतोमा विभिन्न ठाउँमा रहेको खाद्य गोदाममा कमसल गुणस्तरको चामल खरिद गरेर थन्क्याउने गरिएको कम्पनी स्रोतको दाबी छ ।

त्यसरी खरिद गरी गोदाममा राखिएको चामल कमसल भएको कम्पनीकै खाद्य प्राविधिकले प्रमाणित गरेका छन् । तर पनि कमसल चामल खरिद गर्ने कार्य रोकिएको छैन । प्राविधिकद्वारा मापदण्डअनुसार नभएको प्रमाणित चामललाई माथिल्लो निकायको आँखा छल्न आन्तरिक मिलेमतोमा कागजी रूपमा मिलाएर चामल गोदाममा थन्क्याउने काम भएको बताइएको छ ।

खरिद गरी गोदाममा राखिएको चामल कमसल भएको कम्पनीकै खाद्य प्राविधिकले प्रमाणित गरेका छन् । तर पनि कमसल चामल खरिद गर्ने कार्य रोकिएको छैन ।

स्रोतका अनुसार खाद्य कम्पनीको थापाथलीस्थित कार्यालयको गोदाममा कलैया बाराको लक्की राइस मिलबाट खरिद गरिएको सोना मन्सुली चामल नै गुणस्तरहीन भेटिएको छ । प्राविधिकका अनुसार गुणस्तर मापदण्डअनुसार नभएको चामल गोदाममा भण्डारण गर्दा छिटै कुहिने सम्भावना रहन्छ । खाद्य प्राविधिकले चामलको गुणस्तर मापदण्ड नमिलेको भनेर फिर्ता गर्न पत्र पठाउँदा पनि प्राविधिकको पत्रलाई अटेर गर्दै चामललाई गोदाममै राखिएको कम्पनीकै एक प्राविधिकले बताए ।

प्राविधिकले गुणस्तर मापदण्ड नमिलेकाले कमसल चामल फिर्ता गर्न दुई साताअघि नै सुझाव दिएका थिए । तर, प्राविधिकको सुझावलाई पूर्ण रूपमा बेवास्ता गरिएको छ । चामल खरिदसँगै बोरामा गरिने प्याकेजिङमा समेत चलखेल भएको आशंका गरिएको छ ।

खाद्य कम्पनीमा दाल, चामल, धानलगायतका खाद्य वस्तु खरिद गर्दा स्टोर किपरदेखि कार्यालय सहयोगी हुँदै माथिल्लो तहमा रहेका कर्मचारीसम्ममा नै चलखेल हुने गरेको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीको वार्षिक कार्यक्रमअनुसार कम्पनीले विभिन्न ठाउँको खाद्य गोदाममा चामल खरिद गरेर भण्डारण गर्न थालेको बताए ।

उनले खरिद गर्नुपर्ने १ लाख क्विन्टलमध्ये ४० हजार क्विन्टल खरिद गरी भण्डारण कार्य थालिएको जानकारी दिए । खनालका अनुसार कम्पनीले लहानको गोदाममा सोना मन्सुली ९ हजार ५ सय क्विन्टल र स्टिम जिरा ५ हजार क्विन्टल खरिद गरी भण्डारण गरेको छ ।

यसैगरी, वीरगन्जमा सोना मन्सुली ५ सय क्विन्टल र स्टिम ५ हजार क्विन्टल, काठमाडौंमा १० हजार सोना मन्सुली, स्टिम ५ हजार क्विन्टल, नेपालगन्जमा अरुवा मोटा १८ हजार, स्टिम १० हजार क्विन्टल, सुर्खेतमा अरुवा मोटा १७ हजार, स्टिम जिरा ३ हजार क्विन्टल, धनगढीमा मोटा १९ हजार र स्टिम जिरा १ हजार क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गरिएको छ ।

कम्पनीको थापाथलीस्थित कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले कलैया बाराको लक्कि राईस मिलबाट ४ सय क्विन्टल सोना मन्सुली चामल ल्याएर गोदाममा भण्डारण गरिएको बताए ।

उनले लक्की राइस मिलबाट खरिद गरेर थापाथलीस्थित गोदाममा १० हजार क्विन्टल सोना मन्सुली भण्डारण गर्न थालिएको बताए । प्रबन्धक बुढाथोकीले थापाथलीस्थित गोदाममा आएको चामल खाद्य व्यापार कम्पनीकै गुणस्तर मापदण्डअनुसार भएको दाबी गरे ।

व्यापार कम्पनीका खाद्य प्राविधिक विशेष कट्टेलले चामल खरिद गर्दा चामलको गुणस्तर चेक जाँच गरेर मात्र भण्डारण गर्न दिइने बताए । चामलको मोइस्चर १२ प्रतिशतभन्दा माथि हुन नहुने उनले बताए । उनले भने, ‘चामलमा मोइस्चर १२ प्रतिशतभन्दा माथि छ भने त्यो चामल गुणस्तर मानिँदैन । त्यस्तो चामल भण्डारण गर्दा छिटै कुहिन्छ ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७