अर्थमन्त्री खतिवडाले राजीनामा दिंदै, ११ बजे मन्त्रिपरिषद् बैठक

वामदेव गौतम आजै राष्ट्रियसभा सदस्य पदमा मनोनित हुँदै


१९ भाद्र २०७७, शुक्रबार
youraj khatiwada

काठमाडौं, १९ भदौं । अर्थमन्त्री तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज (शुक्रबार) राजीनामा दिंदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीं मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

‘बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । उहाँले त्यहीं राजीनामा दिँदै हुनुहुन्छ’, स्रोतले भन्यो । युवराज खतिवडा ६ महिनाअघि नै सांसद पदमुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो ।

खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरे पनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।

राजीनामा दिए लगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

योसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी शुरु भएको छ । स्रोतका अनुसार अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे छन् ।

स्थायी कमिटी बैठकपछि मात्रै मुलुकले नयाँ अर्थमन्त्री पाउने स्रोतको दाबी रहेको छ । राष्ट्रियसभा सदस्यमा मनोनयन सिफारिस भएका उपाध्यक्ष गौतमले पनि अर्थमन्त्रीमा इच्छा देखाइरहेको भए पनि उनी मन्त्री बन्न संविधान वाधक देखिएको छ । आजैको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्टपतिलाई सिफारिस गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७