बाग्लुङ बाढी : मृतकको सनाखत गर्नै मुस्किल, बेपत्ताको खोजी जारी


२० भाद्र २०७७, शनिबार
baglung badi2020 09 05 05 23 41

बागलुङ, २० भदौं । बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढीले बगाउँदा मृत्यु भएकाको शव सनाखत गर्न मुस्किल भएको छ । शव क्षत विक्षत भएकाले मृत्यु भएका १४ जनामध्ये आठजनाको मात्रै सनाखत भएको छ ।

बुधबार राति भुजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ को तटीय क्षेत्रका ३१ घर बगाएको थियो । घर बगाउँदा १४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् ।

शव भेटिएकामध्ये आठ जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी राजेन्द्र रेग्मीले बताए । पहिचान भएकामा ढोरपाटन नगरपालिका– ९ की २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती, ३२ वर्षीया करमती बुढा र ३१ वर्षीय प्रेम पुन रहेका छन् ।

शव भेटिएकामध्ये ६ जनाको सनाखत हुन सकेको छैन । केही शव क्षतविक्षत भएकाले पहिचान गर्न गाह्रो भएको डिएसपी रेग्मीले बताए । माटोले पुरिएर अनुहारको भाग नै नचिने भएका कारण शव कसको हो भन्ने पत्ता लाग्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

बाढीले ढोरपाटन– ९ स्थित लाकुरीबोटमा रहेको स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाका चार वटा भवन, सडकछेउमा पार्किङ गरेर राखेको एक जिप पनि बगाएको थियो । बेपत्ताको शुक्रबार दिनभर खोजी गरिएको भए पनि कुनै पत्ता नलागेको प्रहरीले जनाएको छ ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सांसद देवेन्द्र पौडेलले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अनुगमनपछि गृहमन्त्री थापाले वर्षा रोकिएसँगै यस क्षेत्रको बस्ती निर्माणका लागि सरकारले सहयोग गर्ने बताए । उनी सैनिक हेलिकोप्टरमा बाग्लुङ आएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७