१० दिनमा फेरियो मेसीको मन, भन्छन्, ‘बार्सिलोना छोड्न सकिनँ’


२० भाद्र २०७७, शनिबार
messi 2

काठमाडौं, २० भदौं । पछिल्लो समय फुटवल स्टार लियोनल मेसीले लगातार सञ्चारमाध्यमहरुमा छाइरहेका छन् । जसको मुख्य कारण हो–‘बार्सिलोना’ छाड्ने चर्चा ।

यहि चर्चाका कारण अहिले मेसी विश्वका फुटवल प्रशिक्षक, खेलाडी, शुभचिन्तक र फुटवलप्रेमीका बीच चर्चाको विषय बनिरहेका छन् । मेसीले बार्सिलोना छाड्छन् र छाड्दैनन् भन्ने विषयमा अहिले अनेक अनुमान र विश्लेषण भइरहेका छन् । उसो त मेसी आफैले पनि बार्सिलोनाबाट विदा हुन चाहेको बताएका थिए ।

तर अन्ततः लियोनल मेसीले एकाएक आफ्नो सोंचबाट ‘यू टर्न’ लिएका छन् । शुरुमा बार्सिलोना छाडेर अन्यत्र जान चाहेको बताएको १० दिनपछि मेसीले मन फेरे र शुक्रबार रातितिर आफू बार्सिलोनामै रहने बताएका छन् ।

आफ्ना मनका कुरा उनले गोल डटकमलाई अन्तर्वार्तामा भनेका छन् । के भन्छन् त यी ३३ वर्षीय अर्जेन्टिनी स्टार ? उनकै शब्दमा :

‘मलाई लाग्छ, म बार्सिलोना छाड्न स्वतन्त्र थिएँ । यो कुरा मैले क्लब अध्यक्षलाई पनि भनेको थिएँ । म सिजनका अन्त्यमा अन्यत्र जान चाहन्थें, तर अध्यक्षले आफ्नो वचन राखेनन् ।

मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु, किनभने अध्यक्षले भनेका छन्, मैले क्लब छाड्ने एक मात्र उपाय भनेको ७० करोड युरो तिर्नु हो, जुन कसैका लागि पनि सम्भव छैन ।

क्लबले भनिरहेको छ, मैले जुन १० अगाडि नै क्लब छाड्न सक्ने अनुबन्धको बुँदा उपयोग गर्नु पर्ने हो, त्यसपछि यो अस्तित्वमा रहन्न । तर कोरोना भाइरस संक्रमणको महामारीले गर्दा स्पेनी ला लिगा त्यो समय मध्य भागमै मात्र पुगेको थियो ।

बार्सिलोना छाड्ने एउटा उपाय भनेको अदालत जाने हो, तर मैले यस्तो काम कहिले पनि गर्दिनँ, किनभने म बार्सिलोनालाई माया गर्छु, यो क्लबले मलाई धेरै दिएको छ । यो मेरो जीवनको भाग हो, यहाँ मैले आफ्नो जीवन बिताएको छु ।

अब म अगाडि बढ्न चाहन्छु र माथिल्लो स्तरको फुटबल खेल्न चाहन्छु, बढी भन्दा बढी उपाधि जित्न चाहन्छु । म युरोपेली च्याम्पियन्स लिगमा खेल्न चाहन्छु ।

जति बेला मैले बार्सिलोना छाड्ने निर्णय श्रीमती र बच्चाहरूलाई सुनाएँ, उनीहरू रून थाले । उनीहरू कोही पनि बार्सिलोना छाड्न चाहन्नन् । बच्चाहरू त स्कुल पनि फेर्ने चाहन्नन् ।

म बार्सिलोनालाई धेरै माया गर्छुं । यस्तो राम्रो शहर अन्यत्र कतै पाइन्न । अब नयाँ चुनौतीका लागि तयार छु । बार्सिलोनामा मेरो सबथोक रहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७