रातो मत्स्येन्द्रनाथको रथ सोह्रखुट्टे पाटी पुर्‍याइयाे {भिडियाे}


२१ भाद्र २०७७, आईतवार
machindra nath rath.00 00 33 07.Still002

काठमाडौं, २१ भदौ । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ । ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र मिननाथ दुवै रथलाई सोह्रखुट्टे पाटी पुर्याइएको हो ।

यससँगै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण बैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो ।

बिहीवार पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथ तानेर करिब ५ मिटर टाढा पुर्याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसयता रथ सडकको बीचबाटैमा थियो।

त्यसपछि सरोकारवाला निकाय र गुठी खलः हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो ।

औपचारिकता पूरा गर्न पाटनका चार टोलका १६० जना मिलेर रथ तानेका थिए । गाः बहालका ४० जना, वछुत्वा नुगःका ४० जना, लगँयाका ४० जना, र जावलाख्यका ४० जना मिलेर रथ तानेका हुन् ।

रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन । भाद्र २६ गते भित्र रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लैजाने तयारी छ ।

पुल्चोक आन्दोलनमा पक्राउ परेका एक जनामा कोरोना

निषेधाज्ञा तोडेर जरबजस्ती रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पक्राउ परेकाहरुमा गरिएको कोरोना परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्यान लिने धम्कीसहितको अन्तरवार्ता दिँदै हिँड्ने थप एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले प्रहरीले पक्राउ गरेको छ।
उनले रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्यमा मेयर महर्जनले असहयोग गरेको र उनीको ज्यान लिने धम्कीसहितको अन्तर्वार्ता युट्युबमा दिएका थिए । पक्राउ पर्नेमा ललितपुरको सनराइज अपार्टमेन्टमा बस्दै आएका ४३ वर्षीय सञ्जय शाक्य रहेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

योसहित पुल्चोक आन्दोलनमा ट्राफिक प्रहरीमाथि आक्रामण गरेको अभियोगमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । पक्राउ परेकालाई अभद्र व्यवहार मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भदौ १८ गते पुल्चोकमा रथ तान्ने क्रममा १ ट्राफिक प्रहरीमाथि निर्घात कुटपित भएको थियो भने झडपका क्रममा दुबै पक्षतर्फ केही व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७