६ लाख बढी नेपाली फर्किने, स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो


२४ भाद्र २०७७, बुधबार
Nepalese at Doha Airport 1

काठमाडौं, २४ भदौं । कोभिड–१९ का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो ।

कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश) मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा पाइएको जनाइएको छ ।

प्रतिवेदनमा समेटिएको त्यो सङ्ख्या कोभिड–१९ का कारण छ महिनादेखि रोजगारी, व्यापार, व्यवसाय बन्द भएर समस्यामा परेकाको रहेको उल्लेख छ । भारतबाहेक विभिन्न देशमा वैदेशिक रोजगारीमा ३२ लाख आठ हजारभन्दा बढी नेपाली रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलका संयोजक डा. फुयालले त्यसरी फर्किनेमध्ये ४० प्रतिशतलाई रोजगारी दिनुपर्ने अवस्था हुने भएकाले त्यसलाई समेत ध्यानमा राखेर कार्ययोजना अघि सारेको जानकारी दिए । उनले भने, ‘विदेशबाट आएका सबैले रोजगारी नै चाहेका हुन्छन् भन्ने हुँदैन ।

विदेशबाट पैसा लिएर फर्किने, सीप र थोरै पैसा लिएर फर्किने र पैसा सबै गुमाएर फर्किने तीन किसिमका जनशक्ति भएकाले त्यसलाई अध्ययन गरेर सबै गुमाएर फर्किनेलाई प्राथमिकता दिएर उसको क्षमताका आधारमा रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हो ।’

विप्रेषण १५ प्रतिशतले घट्यो

अध्ययन प्रतिवेदनमा कोभिड–१९ का कारण नेपाल भित्रिने विप्रेषणमा ठूलो नोक्सानी नभएको उल्लेख छ । गत चैतदेखि जेठसम्म स्वदेश तथा विदेशमा गरिएको बन्दाबन्दीमा नेपाल भित्रिने विप्रेषणमध्ये औसतमा १५ प्रतिशत मात्रै घटेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी भित्रिएको ठूलो परिणामको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

कोभिड–१९ को बढ्दो जोखिमले स्वदेशमा व्यापार, व्यवसाय तथा उद्योग–कलकारखाना बन्द हुँदा २३ प्रतिशतको पूर्ण रूपमा रोजगारी गुमेको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७