नेपाल र भारतबीचको १९५० को सन्धि यस्तो छ, अब सन्धि फेरिने नयाँ पेज २३ आश्विन २०७४, सोमबार काठमाडौं: नेपाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ ।नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो । सन्धिको दफामा जेसुकै रहे पनि यो सन्धि यही रूपमा नरहनेमा दुवै देश सहमत हुने नेपाली पक्षको दाबी छ ।आजको कान्तिपुरमा खबर छापिएको छ ।‘हामी दुई मुलुकका टोली भए पनि एक पक्ष भएर काम गरिरहेका छांै । धेरै विषयमा सहमति भएका छन् । अबको ९ महिनामा निचोडसहित साझा प्रतिवेदन दिनेछौं,’ ईपीजीको नेपाली टोलीका संयोजक डा।भेखबहादुर थापाले भने,‘अब अहिलेको रूपमा यो सन्धि रहँदैन । सन्धि मात्र होइन, हामी समग्र विषयमा नै छलफल गरिरहेका छौं ।’ नेपाल–भारत समग्र दुईपक्षीय सम्बन्धरसम्झौता र १९५० को शान्ति तथा मैत्री सन्धिको विवादित पक्ष केलाएर पुनरावलोकन वा विस्थापित गर्नेबारे सुझाव दिन गठित संयुक्त टोलीको दुईदिने बैठक आइतबार सकिएको हो । बैठक सकिएलगत्तै नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा संयोजक थापाले भने,‘१९५० को सन्धि सच्याउने वा पूर्ण प्रतिस्थापन गर्ने भन्ने विषयमा जानुभन्दा पनि यो सन्धि यही रूपमा रहँदैन भनेर बुझौं ।’ नेपाली पक्षले यस्तो धारणा बाहिर ल्याए पनि अहिलेसम्म सन् १९५० को सन्धि पुनरावलोकनका लागि भएका प्रस्तुतिमा साझा धारणा भने बनिसकेको छैन । दुवै पक्षले बीचको बाटो खोजिरहेकाले पनि नेपाली पक्षले यस्तो धारणा व्यक्त गरेको हो । यस्तो छ १९५० को सन्धि नेपाल र भारतबीच सन् १९५० को सन्धिलाई लिएर बेलाबेला बहस हुने गर्छ । यसपटक भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको क्रममा पनि यो विषयले प्रमुखता पायो । दुई देशबीच यो सन्धि पुनरावलोकन गर्ने सहमति पनि भएको छ । के छ त १९५० को सन्धिमा ? १९५० को सन्धि (सन् १९५० जुलाई ३१) १. नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुर गर्छन् । २. कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् । ३. कर्मचारी वर्गहसहित प्रतिनिधिहरुद्धारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ । ४. दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् । ५. नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् । ६. भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ । ७. नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् । ८. यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ । ९. हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ । १०. यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।