आमा–छोरीमाथि नै पाशविक आक्रमण, आमामा चार र छोरीको पेटमा पाँच महिनाको गर्भ


२४ भाद्र २०७७, बुधबार
garva

काठमाडौं, २४ भदौं । जमाना कस्तो आयो भने, ३० वर्षकी आमाको पेटमा चार महिनाको बच्चा, १५ वर्षकी छोरीको पेटमा चाहिँ पाँच महिनाको ।

आमा त यौनकर्मी भइन्, जसको गर्भ बोके पनि उनको खुशी या बाध्यता । तर, हुर्कंदै गरेकी, अविवाहित, नाबालिक छोरीको पेट कोबाट बस्यो ? न छोरीलाई थाहा छ, न आमालाई । कालिमाटीस्थित प्रहरीको महिला सेलमा मुद्दा छ । घटना सुनेर प्रहरीहरू अचम्म मान्दै जिब्रो टोक्छन्, ‘जमाना खराब’ भन्दै टाउकोमा हात राख्छन् ।

भगवती भुजेल (नाम परिवर्तन) ले आफू पनि १५ वर्ष हुँदैमा जन्माएकी थिइन्, छोरी रोशी (नाम परिवर्तन) लाई । उतिबेला भगवतीले मोरङ, पथरीका ईश्वरी भट्टराईसँग विवाह गरेपछि छोरी जन्माइन् । उनै छोरी पनि १५ वर्षमै आमा बन्दै छिन् । तर, रक्सी र छ्याङको नशामा बाबु नै पत्तो नलाग्ने गरी ।

१२ वर्षअघि काठमाडौं छिरेकी भगवतीलाई पतिले छाडे । तीन बालबच्चा सँगै थिए । तर, पाल्ने उपाय थिएन । अशिक्षित भएकाले काम पाइनन् । एक जना चिनजानको साथीसँग सहयोग मागिन् । एउटा क्याबिन रेष्टुरेण्टमा काम थालिन् । पहिला कामको अनुभव नभएको भन्दै साहुले रिसेप्सनमा मात्रै सहयोग गर्नु भने । तर, तलब माग्दा दिएनन् ।

‘जसले ग्राहकलाई खुशी बनाएर धेरै व्यापार व्यवसाय गर्छ, त्यो मान्छेले मात्रै तलब पाउँछ’ भनी साहुले अपशव्द प्रयोग गरे । पछि ठमेलको एउटा स्पामा सरसफाई गर्ने स्टाफको रुपमा काम पाइन् । अरु साथीहरूले दिनको ५–७ हजार रुपैयाँ लिएर जान्थे । भगवती चाहिँ रित्तै । घरमा खानेकुरा हुँदैन थियो ।

श्रीमानसँग भोको पेटमा लडाइँ गर्नुपथ्र्यो । छोराछोरी भोकले रुन्थे । यसपछि भगवतीले पनि अरु साथीले झैं पैसा कमाउने निधो गरिन् । अर्को मसाज पार्लरमा काम गर्न गइन् । दिनमा आठ देखि १० जनासम्म ग्राहकलाई ‘खुशी’ पार्नुपथ्र्यो । कसै–कसैले टिप्स दिन्थे । तर, बढीजसो सेना–पुलिसका मान्छे आउने कारण भित्र छिर्थे, काम गराउँथे र धम्क्याएर जान्थे ।

यसपछि भगवतीले मसाजमा दुःख गर्न छाडिन् । विभिन्न डान्सबार र दोहोरीका गार्डहरूसँग सम्पर्क गरिन् । ती गार्डमार्फत ग्राहक पाउन थालिन् । पछि ट्याक्सी ड्राइभरहरू मार्फत काम गरिन् । यस प्रकार तीन जना छोराछोरी पढाइन्, पालिन् । श्रीमान्ले छाडिसकेका थिए । पेशामा रहेकै समय ठमेल सञ्चय कोष भवनअगाडि भारतको दिल्लीमा बस्ने युनुस खानसँग भेट भयो ।

त्यस बेलासम्म उनी दिउँसो एकछिन काम गरेको दुई हजार र रातभरि बसेको पाँच हजार लिने भइसकेकी थिइन् । युनुसले उनलाई रातभरिका लागि ठमेलको एक होटलमा लगे । एक रातका लागि गएकी उनलाई तिनले छाड्नै मानेनन् । आ–आफ्नो कथा व्यथा बाँड्दा श्रीमान्, श्रीमतीका रुपमा बस्ने निधोमा पुगे । आठ वर्ष भगवती युनुसको पत्नी भएर बसेकी छन् । युनुसको तर्फबाट दुई वर्षकी छोरी छन् । अहिले पाँच महिनाकी गर्भवती छन् ।

०७६ मंसिरदेखि रिता भुजेल नामकी साथीलाई चिनेकी थिइन् । कोठामा आवतजावत हुन्थ्यो । छोरी रोशी पनि आउने, जाने गर्थिन् । गत फागुन १५ गते रोशी रिताको कोठामा जाँदा मोही भनेर छ्याङमा रक्सी मिसाई खुवाइन् ।

भोलिपल्ट व्युझिँदा शरीरमा केही अप्ठेरो भयो । पिसाब फेर्दा पीडा महसुस भयो । तर, उनले यो कुरा कसैलाई सुनाइनन् । जब असार लाग्यो, पेट अस्वाभाविक रुपमा बढ्न थाल्यो । महिनावारी बन्द भएको त तीन महिना भइसकेको थियो । यसपछि भगवतीले श्रमिक महिला रक्षा संघ नामक संस्थाकी अध्यक्ष सविना तामाङसँग परामर्श गरिन् । छोरीको पेटमा जमेको रगत निकाल्नका लागि झाँक्रीले मागेको सुनाइन् ।

सविनाले भदौको १२ गते छोरीसँग सोधपुछ गरिन् । पिसाबको माध्यमबाट जाँच्ने विधिअनुसार परीक्षण गर्दा गर्भ रहेको लक्षण देखियो । भदौ १३ गते थापाथलीस्थित प्रसुती गृहमा जाँच्दा २६ हप्ताभन्दा बढीको बच्चा रहेको थाहा भयो ।

अनि बल्ल खुल्यो, फागुन १५ गते रिता भुजेलको डेरामा मोही भनी छ्याङ खुवाइएको र बेहोस भएपछि दुई जना केटाले करणी गरेको । रोशीलाई करणी गर्नेहरूको नाम पहिचान भए पनि पक्राउ परेका छैनन् । प्रहरीले उनीहरूको नाम गोप्य राखेको बताएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७