अब नेकपा कार्यकर्ताले नेताविरुद्ध फेसबुक, ट्वीटरमा लेख्न नपाउने


२५ भाद्र २०७७, बिहीबार
cpn
फाइल तस्बिर

काठमाडौं, २५ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नै कार्यकर्ताबाट शीर्ष नेताहरुमाथि हुँदै आएको आलोचना रोक्न कडाई गर्ने भएको छ ।

खासगरी नेता र सरकारका काम कार्वाहीबारे आलोचनात्मक टिप्पणी गर्न नपाइने गरी बन्देज लगाउन खोजिएको हो । दुई अध्यक्षले स्थायी कमिटीमार्फत् कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने व्यवस्था गर्न लागेका हुन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले स्थायी कमिटीमा पेश गर्न तयार पारिएको प्रतिवेदनमा नेताका कर्ममाथि टिप्पणी गर्न कार्यकर्तालाई रोक लगाउने प्रस्ताव गरिएको हो ।

प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

ओली–दाहालको प्रस्तावमा लेखिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’

यता अध्यक्षद्वयले तयार पारेको प्रस्ताव सचिवालय सदस्य र स्थायी कमिटी सदस्यले पढ्नै नपाई सार्वजनिक गरिएको भन्दै असन्तुष्टि बाहिरिएको छ । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि प्रकट गर्दै फेसबुकमार्फत ‘नेकपा कम्ति पारदर्शी छ त !’ भन्दै व्यंग्य गरेका छन् ।

रिजाल फेसबुकमा, ‘नेकपा कम्ति पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो । अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दा नपुग्दै हुबहु सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न कति हतार हो ? बैठकमासम्म त पेश हुन दिए हुने नि !’, लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७