राष्ट्रिय आविष्कार केन्द्रद्वारा संक्रमितलाई अस्पतालमा लैजाने बाकस निर्माण


२५ भाद्र २०७७, बिहीबार
korona 4

बागलुङ, २५ भदौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रमितलाई अस्पतालमा पुर्‍याउने बाकस निर्माण गरेको छ ।

खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले पछिल्लो पटक कोरोना सङ्क्रमितहरुलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजान बाकस निर्माण गरेको हो ।

बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना सङ्क्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको केन्द्रका अध्यक्ष महावीर पुनले बताए । उनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पूरा भएको बताउँदै यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने र चेन लगाएर बन्द गर्न सकिने बताए ।

उनका अनुसार बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन–९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिन्छ । बाकसभित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पङ्खा जडान गरिएको छ । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको बताइएको छ ।

अबको केही दिनभित्रै कोभिड-१९ को उपचार गर्ने अस्पताललाई यो बाकस उपलब्ध गराइने अध्यक्ष पुनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७