देशभर ५० हजार कोरोना संक्रमित, काठमाडौंमा अहिलेसम्मकै उच्च


२६ भाद्र २०७७, शुक्रबार
korona

काठमाडौं, २६ भदौं । कोरोना भाइरस देखिएको आठ महिनापछि नेपालमा संक्रमितको संख्या ५० हजार नाघेको छ ।

देशका अन्य भागमा दैनिक पुष्टि हुने संक्रमितको संख्या स्थिर रहे पनि राजधानीमा भने दिनदिनै बढ्दै गएको छ । बिहीबार राजधानीमा संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर एक हजार दुई सय ४६ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५० हजार चार सय ६५ पुगेको छ । बिहीबार ११ हजार एक सय ४४ नमुना परीक्षण गरिएको छ ।

त्यस्तै, कोरोनाबाट पछिल्लो २४ घन्टामा पाँचजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए । योसँगै मृत्यु हुनेको संख्या पनि तीन सय १७ पुगेको छ । बिहीबार मृत्यु पुष्टि भएकामध्ये काठमाडौंका तीन, चितवन र कपिलवस्तु एक–एकजना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एक हजार आठ सय १८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि ३५ हजार सात सय पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ४८ रहेको छ । उनीहरूमध्ये ६ हजार चार सय ३८ जना घरमा र आठ हजार १० विभिन्न अस्पताल तथा अन्य संस्थागत आइसोलेसनमा रहेका छन् ।

उपत्यकामा एकदिनै पाँच सय ७२ जनामा संक्रमण
देशका अन्य जिल्लामा संक्रमण स्थिर रहेको भए पनि काठमाडौं उपत्यकाका तीन जिल्लामा भने दैनिक बढ्दै गएको छ । बिहीबार पाँच सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।

त्यस्तै, संक्रमितहरूमध्ये काठमाडौंका चार सय ९५, ललितपुरका ४३ र भक्तपुरका ३४ जना रहेका छन् । बुधबार उपत्यकामा चार सय ६४ जनामा कोरोना देखिएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७