अस्पताल पुर्‍याए लगतै विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु


२६ भाद्र २०७७, शुक्रबार
koshi hospita

विराटनगर, २६ भदौं । विराटनगरमा एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पुर्‍याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको उपचारका क्रममा बिहीबार साँझ ७ः१० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिएका छन् । उनका अनुसार महिलामा उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपनालगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या थिए ।

मृतक महिलामा विगत पाँच दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएका थिए। कोरोना संक्रमण पुष्टि भएको र समस्या झन् बढ्दै गएपछि उनलाई उपचारका लागि बिहीबार दिउँसो १ बजे कोशी अस्पताल ल्याइएको थियो ।

अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिए पनि स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि साँझ ६ः४५ बजेतिर थप उपचारका लागि कोभिड उपचार केन्द्रमा पठाइएको अस्पतालका आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए ।

तर आइसोलेसनबाट कोभिड उपचार केन्द्रमा थप उपचारका लागि पठाएको आधा घण्टा पुग्न नपाउँदै महिलाको मृत्यु भएको र धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको यादवको भनाइ छ ।

महिलाले ज्यान गुमाएसँगै विराटनगरमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ । प्रदेश–१ मा मात्रै हालसम्म ४४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ जना प्रदेश २ मा संक्रमण पुष्टि भएर उपचारका लागि प्रदेश–१ का कोभिड अस्पतालमा ल्याइएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७