भदौ ३१ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने भक्तपुर नगरपालिकाको निर्णय


२६ भाद्र २०७७, शुक्रबार

भक्तपुर, २६ भदौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।

नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दूरीका यातायातहरू ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने भनी निर्णय गरेका थिए ।

नगर प्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाउन व्यवसायीलाई आग्रह गरेको छ । व्यवसायीहरुले मास्क, पञ्जा लगाइ शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्नु पर्ने नगर प्रमुख प्रजापतिको भनाई छ ।

कोरोनाभाइरस (कोभिड १९) रोग काठमाडौँ उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौँको सङ्ख्यामा संक्रमितहरू बढिरहेको नगरबासीलाई सचेत हुन आग्रह गरिएको छ । भक्तपुर नगर क्षेत्रमा २ सय १३ जनाभन्दा बढी संक्रमित भइसकेको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७