डेढ महिनादेखि स्थगित नेकपा स्थायी कमिटी बैठक आज बस्दै

ओेली–प्रचण्डद्वारा तयार १५ बुँदे प्रस्ताव पेश गरिंदै


२६ भाद्र २०७७, शुक्रबार
Nekapa 5

काठमाडौं, २६ भदौं । पार्टीभित्रको किचलोका कारण डेढ महिनादेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ ।

असारमा शुरु भएको बैठक चर्को विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो । तर त्यसपछि बैठक बस्न सकेको छैन । पार्टीभित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।

प्रतिवेदनले विवाद समाधानका लागि उपाय दिएकाले अब स्थायी कमिटीको बैठकमा जानकारी दिने अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी १५ बुँदे प्रस्ताव पेश गरिने छ ।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले सरकार र प्रधानमन्त्रीको तीब्र आलोचना गरेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग सल्लाह नै नगरी बैठक स्थगित गरेका थिए । ओलीले बैठक स्थगित गरे पनि साउन १३ मा अर्का अध्यक्ष दाहालले आफू र नेता माधव नेपाल पक्षीय सदस्यहरुको बैठक राखेर ओलीको कार्यशैली र रवैयाको आलोचना गरेका थिए ।

दुई अध्यक्षको सहमतिमा बैठक बोलाउने जिम्मेवारी दाहाललाई बैठकले दिए पनि त्यसयता बैठक बस्न सकेको थिएन । झण्डै फुटको नजिक पुगेको नेकपा अहिले भने प्रधानमन्त्री ओलीलाई थप बलियो बनाउने ६ सदस्यीय कार्यदलको प्रस्तावमा दाहालले सहमति जनाएपछि विवाद साम्य बनाउने प्रयास भएको छ ।

कार्यदलले दिएको प्रतिवेदनमै केही फेरबदल गरेर अध्यक्षद्वयले तयार पारेको १५ बुँदे प्रस्ताव आज बस्ने स्थायी कमिटीको बैठकमा पेश गरिने र पारित गरिने जनाइएको छ ।
बैठकमा विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरी बैठक आजै टुंग्याइने जनाइएको छ ।

तर माधवकुमार नेपाल पक्षले भने दुई जना अध्यक्षबीच मात्रै भएका सहमति नमान्ने र पार्टीमा नेताहरुको मनपरी हटेर विधिसम्म निर्णय हुनुपर्ने अडानमा रहेको छ ।

प्रधानमन्त्री ओलीले विधि र पद्दति मिचेर सरकार चलाएको, पार्टीका निर्णय नमानेको, सरकारको बदनाम हुने गरी नियुक्ति र निर्णय गरेकोलगायतका आरोप लागेपछि नेकपाभित्र विवाद चुलिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७