नेकपा वैठक : वरिष्ठ नेता नेपाल आक्रामक, अध्यक्षद्वयको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि

मन्त्री भुसालसहित १० नेताले राखे आफ्नो धारणा


२६ भाद्र २०७७, शुक्रबार
nekapa

काठमाडौं, २६ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शुक्रबार) बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेतामाधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्ने पुरानै अडानलाई जोड दिंदै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि जनाएको स्रोतले जानकारी दिएको छ ।

nekapa 1
नेकपा स्थायी कमिटी वैठकमा सहभागी नेताहरु

नेपालले मुलतः अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएकोप्रति चर्को असन्तुष्टि जनाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । व्यक्ति एक मुख्य जिम्मेवारीलगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

नेता नेपालले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति ः एक जिम्मेवारीलगायतका मुद्दा उठाउँदै आएका छन् । उनले यसबारेमा प्रचण्डसँग बिहीबारको भेटमा समेत असन्तुष्टि जनाएका थिए ।

बिहान ११ बजेदेखि शुरु भएको वैठकमा नेता नेपालसहित अहिलेसम्म १० जना नेताले धारणा राखिसकेका छन् ।

सो बैठकमा अहिलेसम्म पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालसहित घनश्याम भुसाल, मातृका यादव, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, लिलामाणी पोखरेल र देव गुरुङ लगायत १० नेताले धारणा राखेका हुन् । अझै दुई अध्यक्षद्वारा प्रस्तुत संयुक्त प्रस्तावमा धारण राख्ने क्रम जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा साढे ११ देखि शुरु भएको बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष प्रचण्डले गरेका छन् । बैठकमा केहिबेर बसेर आफ्ना संक्षिप्त कुरा राखेपछि प्रधानमन्त्री ओली भने बाहिरिएका थिए । सहमतिकै आधारमा प्रस्ताव आएकाले बैठक आजै सक्ने तयारी छ ।

आजको वैठकमा अध्यक्ष प्रचण्डको कुर्सी बीच भागमा रहेको छ । नेताहरुको जिम्मेवारी, सरकार तथा पार्टी सञ्चालनलगायत विषयमा गम्भीर विवाद भएपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो । शुक्रबारको बैठक एक महिना १३ दिनको अन्तरालपछि बसेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७