भक्तपुर घटना : आमा–छोराको सुतेकै ठाउँमा हत्या गरेपछि, आत्महत्या


२७ भाद्र २०७७, शनिबार
bhaktapur crime

भक्तपुर, २७ भदौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको मृत्यु घटनामा श्रीमती र छोराको सुतेकै ठाउँमा हत्या गरी ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको निष्कर्ष नजिक प्रहरी पुगेको छ ।

दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनिलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।

‘पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो, भित्तामा समेत रगतको छिर्का देखिएको थियो’, अनुसन्धानमा संलग्न एक अधिकृतल भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको थियो ।’

स्रोतका अनुसार घरमा रहेको दाउ जस्तो धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुनेछ ।

स्रोतका अनुसार अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोट पटक छैन । उनले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि छन्, जसमा विषको जस्तो गन्ध आएको छ ।

प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भर्‍याङमा कुकुर पनि मृत भेटिएको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनाको कारण यस्तो
उनीहरुको घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको आफन्तले जानकारी दिएका छन् । यस विषयमा पनि प्रहरीले बुझिरहेको बताएको छ । घर नै बैंकले लिलाम गर्ने तयारी गरेपछि घरमा झगडा बढ्दै पाइएको छ । दुई लाख रुपैयाँ ससुरालबाट लिएको ऋण पनि तिरेका थिएनन् ।

सुदीप घरको काम नगर्ने रक्सी खाने, तास खेल्ने र खाली बाहिरै हिंड्ने गरेको र त्यही कारण घरमा झगडा भइरहने गरेको स्थानीय र आफन्तले जानकारी दिएका छन् । झगडा हुँदा आमा–छोरा एकातिर र सुदीप अर्कोतर्फ हुने गरेको पाइएको छ ।

सुदीपका भाइले भनेका छन्, ‘छोरो पढाउनु पर्ने, किन लत्तो छाडेको, काम गर्नु भनेर भाउजूले सधैँ कराइरहनु हुन्थ्यो ।’ ससुरालीको २ लाख ऋणको विषयमा पनि उनीहरुबीच झगडा पथ्र्यो । यिनै कारण झगडा बढ्दै गएको र परिवार नै सखाप हुने अवस्थामा पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७