प्रहरी हिरासतमा दलित युवकको मृत्यु

प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप, शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबीे


२८ भाद्र २०७७, आईतवार
dalit yuba mirtu2020 09 13 05 41 47

धनगढी, २८ भदौं । मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका धनगढीका दलित युवकको जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएको छ । प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप छ भने शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबी छ ।

धनगढी–५ का १९ वर्षीय रोशन विकलाई मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २२ भदौमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनको २६ भदौमा मृत्यु भएको थियो । उनी थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टको भनाइ छ ।

रोशनका आफन्तजनले प्रहरीको यातनाबाट उनको मृत्यु भएको आरोप लगाएका छन् । ‘मुख र नाकमा चोटपटक लागेको छ । मुख र नाकबाट रगत पनि आएको छ,’ रोशनका बुबा टेक विकले भने, ‘प्रहरीको कुटाइबाट मरेको हो । आत्महत्या भनेर प्रहरीले घटना लुकाउन खोजेको छ ।’

शुक्रबार उनका आफन्तजनले दिनभर जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए । शनिबार भने सुदूरपश्चिम प्रदेश प्रहरीले सशस्त्र प्रहरी गणका एसपी राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेपछि रोशनको शव बुझेर दाहसंस्कार गरेका छन् ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख झंकर रावलले घटनाको विस्तृत अध्ययन गरिने बताएका छन् । प्रहरी हिरासतमा रहेका मान्छेको मृत्यु हुनुले हिरासतको सुरक्षा बन्दोबस्त कमजोर रहेको देखिएको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७