आधा विद्यार्थी फर्किने अनिश्चित, संकटमा उपत्यकाका सामुदायिक विद्यालय

मर्ज वा बन्द गर्नुपर्ने अवस्थामा निजी विद्यालय


२८ भाद्र २०७७, आईतवार
Kankali HSS 2.jpg .2020 09 12

काठमाडौं, २८ भदौं । निजी विद्यालयसरह आकर्षक मानिएका काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयमा अघिल्लो वर्ष भर्ना भएका करिब आधा विद्यार्थी फर्किने अनिश्चित देखिएको छ ।

कोरोना प्रसार रोक्न ११ चैतमा देशव्यापी लकडाउन भएपछि अभिभावकसँगै आ–आफ्ना गाउँ गएका बालबालिका फर्किने निश्चित नभएको हो ।

सामुदायिक विद्यालयमा सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण गर्छ । यस वर्ष करिब ५० प्रतिशत विद्यार्थीले मात्र नाम दर्ता गरेर पुस्तक लगेका छन् । काठमाडौंका नाम चलेका सामुदायिक विद्यालयहरू देशभरबाट आएका विद्यार्थीले भरिभराउ हुन्थे । कोरोना संकट कायम रहँदा ती विद्यालयमा विद्यार्थी अभाव देखिएको हो । काठमाडौंका चक्रपथभित्रका सबैजसो सामुदायिक विद्यालयको साझा समस्या हो यो ।

सामुदायिक विद्यालयमा नाम दर्ता गरेर पुस्तक लगेका विद्यार्थीले पनि काठमाडौं फर्किन नसक्ने बताएका छन् । अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा सरकारले यस्ता विद्यालयलाई पुस्तक खरिदका लागि बजेट उपलब्ध गराएको छ । विद्यार्थी अभावमा पुस्तक विद्यालयमै थुप्रिएका छन् ।

काठमाडौंबाट फर्केका विद्यार्थी नजिकका जिल्लाका विद्यालयमा भर्ना भएका छन् । सिन्धुपाल्चोक साँगाचोकस्थित जनजागृति माविका प्रधानाध्यापक पदम पराजुलीका अनुसार काठमाडौंबाट फर्केका केही विद्यार्थी भर्ना भइसकेका छन् भने केही भर्ना हुने क्रममा छन् ।
‘काठमाडौंमा बस्न गाह्रो भयो भन्दै केही विद्यार्थी आएर भर्ना भएका छन्, केहीले भर्ना हुन चाहेका छन्,’ पराजुली भन्छन्, ‘कक्षा १० मा पनि भर्ना हुन भन्दै आएका थिए, लिन सकिएन ।’

ग्रामीण भेगका अन्य विद्यालयमा पनि काठमाडौंबाट फर्केका विद्यार्थी भर्ना भएको उनी बताउँछन् । ‘एउटै विद्यालयमा ठूलो संख्यामा नबढे पनि काठमाडौंबाट फर्केकाहरू थोरै भर्ना भएका छन्,’ उनी भन्छन्, ‘विद्यालय खुलेर राम्रोसँग सञ्चालन गर्न पाएको भए अरू धेरै थपिन सक्थे ।’

विद्यार्थी अभाव झेल्दै सामुदायिक विद्यालय

काठमाडौं क्षेत्रपाटीस्थित जुद्ध माविका प्रधानाध्यापक लक्ष्मण पौडेलका अनुसार उक्त विद्यालयमा अघिल्लो वर्षको तुलनामा करिब ६० प्रतिशत विद्यार्थीले मात्र नाम दर्ता गरेर पुस्तक लगेका छन् । करिब ४० प्रतिशत विद्यार्थीले नफर्किने जानकारी पठाएका छन् ।

‘पुस्तक लगेका पनि १५ प्रतिशत गाउँ गए, हामीले सम्पर्क गर्दा अब आउन सकिँदैन भने,’ प्रअ पौडेल भन्छन् । माथिल्लो कक्षाका विद्यार्थी काठमाडौंमै रहे पनि तल्लो कक्षाका एकदमै न्यून छात्रछात्रा मात्र यतै बसेको उनी बताउँछन् । ‘अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा विद्यालयमा आएको बजेटले पुस्तक किनेर ल्यायौँ,’ उनी भन्छन्, ‘एकतिहाइ पुस्तक विद्यालयमै थुप्रिएका छन् ।’

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविमा पनि हालसम्म करिब ५५ प्रतिशत विद्यार्थीले मात्र नाम दर्ता गरेर पुस्तक लगेका छन् । कक्षा–१० सम्म गत वर्ष एक हजार तीन सय ५० विद्यार्थी रहेकामा अहिले नयाँ थपिएकासहित सात सय ३० ले मात्र पाठ्यपुस्तक लगेका छन् ।

प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन्, ‘भर्ना भएर पुस्तक लैजाने विद्यार्थी सात सय ३० पुगेका छन्, पुराना ४० जना विद्यार्थीले गाउँकै विद्यालयमा भर्ना भएकाले नआउने निश्चित गरेका छन् ।’

यस्तै, पुतलीसडकस्थित पद्मोदय माविमा अघिल्लो वर्ष चार सयभन्दा बढी विद्यार्थी थिए । यस वर्ष करिब अढाइ सय विद्यार्थी मात्र सम्पर्कमा छन् । विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतमका अनुसार करिब ४० प्रतिशत विद्यार्थी सम्पर्कमा छैनन् ।

अघिल्लो वर्षको विद्यार्थी संख्याको करिब ६० प्रतिशतले नाम दर्ता गरेर पुस्तक लगेको उनी बताउँछन् । माथिल्लो कक्षाका विद्यार्थी अनलाइन कक्षालगायतमा सम्पर्कमा छन्, तर तल्लो कक्षाका विद्यार्थी बेखबर छन् ।

काठमाडौं पुरानो नैकापस्थित कंकाली माविको कम्प्युटर कक्षा । कोरोना संकटका कारण सामुदायिक विद्यालयहरूमा पठनपाठन सञ्चालन हुने तिथि अनिश्चित छ ।
बाफलस्थित ज्ञानोदय माविमा केही वर्षयता निरन्तर विद्यार्थी बढेका छन् । यो वर्ष पनि विद्यार्थी संख्या बढेको छ, तर पुराना करिब ३० प्रतिशत विद्यार्थी सम्पर्कमा आएका छ्रैनन् । विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार कक्षा ३ सम्म भर्ना नहुनेको संख्या धेरै छ ।

स्थानीय विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा अलि फरक अवस्था छ । भक्तपुरको श्रीपद्म मावि त्यसमध्येको हो । यस विद्यालयका प्रधानाध्यापक राम हाडाका अनुसार पुराना केही विद्यार्थी आफ्नो गाउँ गए पनि नयाँ थपिँदा अघिल्लो वर्षजस्तै विद्यार्थी संख्या छ । यो विद्यालयमा माथिल्ला कक्षामा स्थानीयभन्दा बाहिरबाट आएका विद्यार्थीको संख्या धेरै छ । तल्लो तहमा भने स्थानीय विद्यार्थी संख्या धेरै छ ।

काठमाडौं पुरानो नैकापस्थित कंकाली माविमा ६० प्रतिशत विद्यार्थी उपत्यकाबाहिरका छन् । हालसम्म ६० प्रतिशतले नाम दर्ता गरेर पुस्तक लगे पनि बाँकीले के गर्छन् भन्ने अन्योल रहेको प्रधानाध्यापक विष्णु पनेरु बताउँछन् । उनका अनुसार कतिपय विद्यार्थी पुस्तक लिएर गाउँ गएका छन् ।

‘काठमाडौंका काँठ क्षेत्रमा स्थानीय विद्यार्थी बढी छन्, चक्रपथभित्रका विद्यालय बढी संकटमा छन्,’ उनी भन्छन् । सामुदायिक विद्यालयमा जहाँ पढे पनि निःशुल्क भएकाले विद्यार्थीलाई सहज हुने ठाउँमा पढ्न प्रेरित गर्नुपर्ने अवस्था आएको पनेरु बताउँछन् ।

सबै स्थानीय तह र विद्यालय मिलेर आ–आफ्नो क्षेत्रका बालबालिकालाई विद्यालय भर्ना गराउनुपर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम बताउँछन् । कोभिड–१९ का कारण सहर छाडेर अभिभावकसँगै गाउँ गएका बालबालिकालाई सम्बन्धित ठाउँकै विद्यालयमा भर्ना गर्नुपर्ने उनको भनाइ छ ।

मर्ज वा बन्द गर्नुपर्ने अवस्थामा निजी विद्यालय

थोरै विद्यार्थी संख्या भएका र सानो लगानीमा सञ्चालित निजी विद्यालय पनि समस्यामा छन् । राष्ट्रिय प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार काठमाडौंका निजी विद्यालयमा अध्ययन गर्ने करिब ४० प्रतिशत विद्यार्थी सोही विद्यालयमा फर्किने अनिश्चित छ ।

यस्तै अवस्था रहेमा उपत्यकामा पाँच सयसहित देशभरमा दुई हजार निजी विद्यालय मर्ज वा बन्द गर्नुपर्ने अवस्थामा रहेको उनी बताउँछन् । ‘मेरै विद्यालयमा पनि ४० प्रतिशत अभिभावक फर्केर आउने वा नआउने अनिश्चित पाएँ,’ अध्यक्ष सापकोटा भन्छन्, ‘कुनै विद्यालयमा ५० प्रतिशत घटेमा खर्च पनि धान्दैन, यस्तो अवस्थामा मर्ज वा बन्द गर्नुपर्ने अवस्था आउन पनि सक्छ ।’ यसले शिक्षक र कर्मचारीको रोजगारीको अवसर समेत गुम्ने उनी बताउँछन् । काठमाडौंमा ९५ प्रतिशत निजी विद्यालय भाडाका भवनमा सञ्चालित छन् ।

अनलाइन कक्षामा थोरै विद्यार्थी सहभागी भएकाले शुल्क उठ्ने सम्भावनासमेत कम छ । भएकाले धेरै निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सकेका छैनन् । सरकारले भर्खरै निर्देशिका जारी गरी स्थानीय तहको स्वीकृतिमा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

ठूला निजी विद्यालयले भर्ना लिइसकेका छन् । तर, औपचारिक रूपमा भर्ना आह्वान गरेका छैनन् । यसअघि सरकारले अनलाइन कक्षाको शुल्क लिन अनुमति दिएको थिएन । अधिकांश विद्यालयमा माथिल्लो कक्षामा पनि ५० प्रतिशत विद्यार्थी मात्र अनलाइन पढ्ने र पढेकाले शुल्क तिर्न रुचि नदेखाउँदा केही समयमै कक्षा बन्द भएका थिए । विद्यालय खुलेर भौतिक उपस्थितिमा कक्षा लिने वातावरण नभएसम्म अवस्था अन्योलग्रस्त रहने अध्यक्ष सापकोटा बताउँछन् ।

कक्षा ११ मा भर्ना लिन ‘पर्ख र हेर’ को अवस्थामा

एसइईको नतिजा आएपछि केही विद्यालयले कक्षा ११ मा भर्ना लिइरहेका छन् । यस वर्षको एसइईमा विद्यालयले आन्तरिक मूल्यांकन गरेका कारण कक्षा ११ मा भर्ना पाउनेको संख्या धेरै छ । तर, शैक्षिक संस्थामा विभिन्न माध्यमबाट सम्पर्क गर्ने संख्या कम छ ।

काठमाडौंमा सुरक्षित महसुस नगरेका कारण अभिभावक र विद्यार्थी ‘पर्ख र हेर’को अवस्थामा रहेको हिसानका अध्यक्ष रमेशकुमार सिलवाल बताउँछन् । एकातिर अभिभावकको आर्थिक अवस्थामा असर परेको र अर्कोतिर काठमाडौंमा सुरक्षित महसुस नगरेका कारण कक्षा ११ मा भर्नाको प्रभाव परेको अध्यक्ष सिलवालको भनाइ छ । सम्पर्कमा आएका विद्यार्थीमा पढाइमा समेत उत्साह नदेखिएको उनी बताउँछन् ।

हिसानका महासचिव लोकबहादुर भण्डारी जताततै संकट भएको बताउँछन् । भन्छन्, ‘एसइईमा सबै विद्यार्थीको नतिजा राम्रो छ, तर पनि उत्साह छैन ।

प्रायः सबैको हरेक विषयमा डि–प्लस आएकाले यति बेला भर्नाका लागि भिड हुनुपर्ने हो । तर, विद्यार्थी काठमाडौं आउन सकेका छैनन् ।’ ०७६ को एसइईमा चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले आवेदन दिएका थिए । विद्यालयहरूले परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण पठाएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७