असोज १ बाट हवाई टिकट बुकिङ खुल्दै, भाडा घट्ने


३० भाद्र २०७७, मंगलवार
airport

काठमाडौं, ३० भदौं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा लागेका छन् । त्यसअगाडि कम्पनीहरु कुन– कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । ‘हामीलाई सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिन्छौं,’ उनले भने । उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् ।

सम्भवतः एक तिहाई उडान मात्र पहिलो चरणमा खुल्ने बताउँदै उनी भन्छन्, ‘त्यही अनुसार वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् ।’

यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोअनुसार पनि प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएको थियो ।

तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो । पछिल्लो समय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएको हो ।

कम्पनीहरु भने १ असोजबाट बुकिङ खुलाउने तयारीमा छन् । एक वायुसेवा सञ्चालकका अनुसार सरकारले त्यो दिनसम्म गन्तब्य नतोके सबै गन्तब्यका लागि टिकट बुकिङ खुल्नेछ ।

भाडा घट्ने
एयरलाइन्सले अहिले जहाजको भाडादर एकदमै कम हुने जनाएका छन् । जहाजले कमाउने भन्दा पनि कम्पनी ‘सर्भाइभ’ गर्ने रणनीति अंगीकार गर्ने उनीहरुको भनाइ छ ।

‘अहिले हामी कमाउने सोचमा छैनौं । एयरलाइन्सलाई कसरी जोगाउने भन्ने हाम्रो रणनीति हो’, एक एयरलाइन्स सञ्चालकले भने, ‘यात्रुले पहिलेभन्दा पनि सस्तो दरमा जहाज चढ्न पाउनु हुन्छ ।’

आन्तरिक उडानमा ठूलो हिस्सा भएको बुद्ध एयरले पनि अहिले भाडा घट्ने बताइसकेको छ । बुद्ध एयरले बुकिङ समेत खुल्ला गरिसकेको छ ।
एयरपोर्टमा अनुगमन
प्राधिकरण, एयरपोर्ट, एयरलाइन्सले प्रोटोकल पालना भयो भएन भन्नको लागि सबै एयरपोर्टमा अनुगमन समितिको व्यवस्था गरिएको छ ।

‘हरेक एयरपोर्टमा एयरलाइन्सको कर्मचारी, एयरपोर्टको पुलिस, एयरपोर्टकै कर्मचारीको अनुगमन समिति रहेको छ’, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राज कुमार क्षेत्रीले भने, ‘कसले प्रोटोकल पालना गर्यो गरेन, समितिले अनुगमन गर्छ ।’

एयरपोर्टमा कर्मचारीले मास्क, फेस भाइजर, पन्जा लगाएर बस्नु पर्नेछ । क्षेत्रीले प्रोटोकल पालना मुख्यतया यात्रुले नै गर्नुपर्ने बताए ।

‘यात्रा गर्दा सबैभन्दा बढी सतर्क यात्रु नै हुनुपर्छ । आफू सकेसम्म अरुको सिधा सम्पर्कमा नआउने, आफूले प्रयोग गर्ने सामग्री आफैँ लैजाने, मास्क स्यानिटाइजर प्रयोग गर्न यात्रुले छाड्नु भएन’, क्षेत्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७