रगतको नाता र रकमको रमिता, व्यावसायिक घराना ज्योति समूहको झगडा ‘छताछुल्ल’


३१ भाद्र २०७७, बुधबार
rup jyoti padma jyoti

काठमाडौं, ३१ भदौं । ‘भाग्य ओरालो लागेपछि बैरी र शत्रु खोज्न टाढा जानु पर्दैन’ भन्ने नेपाली उखान यतिखेर मुलुकको पुरानो व्यावसायिक घराना ज्योति समूहमा देखिएको छ ।

सम्पत्ति भन्ने चिज धेरै हुँदा पीर, नहुँदा पनि पीर । बरु नहुनेसँग एउटा मात्र पीर भन्ने यथार्थलाई दाजु पद्मज्योति र भाइ डा.रूपज्योतिबीचको छताछुल्ल झगडाले प्रष्ट पारेको हो । नियमानुसारको व्यवसाय गरिखाँदासम्म ज्योति समूहमा खासै भाँडभैलो थिएन ।

जब, व्यवसायमा ‘चित्त सानो र हात लामो’ बनाउन थालियो त्यसपछि उनीहरूबीच रकम कलमलाई लिएर महादेवको तीन नेत्र नै शुरु भयो । अहिले पद्मज्योति र रूपज्योतिले एकापसमा निषेधको सूचना प्रकाशित गरेर घर झगडालाई सार्वजनिक गरिदिएका छन् । पछिल्लो प्रकाशित सूचनामा भाइले दाइलाई समूहको अध्यक्षबाट हटाइ दिएका छन् ।

प्रतिबन्धित सरोगेसी (भाडाको कोखबाट बच्चा जन्माउने प्रविधि) बाट अकुत सम्पत्ति कमाउने उद्देश्य मिलुन्जेल उनीहरूबीच खासै झगडा थिएन । उनीहरूले बाजेको पालादेखि सञ्चालन गर्दै आएको अन्य व्यवसायलाई भन्दा ज्योति भवनमा खोलिएको ग्राण्डी सिटी क्लिनिकको अवैधानिक सरोगेसीलाई महत्व दिए ।

त्यसबाट लाखौं डलर कुम्ल्याउन थालेपछि प्रतिष्ठित भनिएका व्यवसायीका दाजु र भाइबीचको सम्बन्ध जग हँसाउने अवस्थामा पुगेको हो ।

भाइले आफ्नो अस्पतालले घरभाडा र पेश्कीवापत दिएको चार करोड रूपैयाँ पचाउन दाजुले नाटक गरेको आरोप लगाएका छन् भने दाइले यसअघि प्रकाशित गरेको सूचनामा आफ्नो भवनमा सञ्चालित ग्राण्डी सिटी अस्पताल अवैध रहेको बताएका थिए ।

राजाको शासनकालमा अर्थ सहायकमन्त्री बनेका डा. रूपज्योति गत वर्ष जग्गा बैना लिएको रकम विवादमा विमानस्थलबाटै पक्राउ परेका थिए । बाउ मणिहर्ष ज्योतिको प्रख्यात व्यवसायको बिँडो थाम्न नसकेपछि छोरा र नातीहरूले पछिल्लो रडाको मच्चाएको नातेदारहरूले बताएको खबर जनआस्थाले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७