सेनाको आग्रह सुन्ला त सरकारले ?


३१ भाद्र २०७७, बुधबार
army

काठमाडौं, ३१ भदौं । सरकारसँग सेनाको एउटा आग्रह छ, खरिद–बिक्रिका मामिलामा हामीलाई नजोडिदिनुस् ।

अहिले कोरोना संक्रमणको फैलावट र मृतकहरूको संख्या बढेसँगै शव व्यवस्थापनमा खटिएको सेनाले योभन्दा बढी जिम्मेवारी लिन नसकिने जानकारी सरकारलाई दिएको हो । ओम्नी समूहले आयात गर्न लागेको औषधी खरिद प्रकरणमा विवाद भएपछि सरकारले सेनालाई सोको पनि जिम्मेवारी दिएको थियो । उसले दिइएको जिम्मेवारी बमोजिम औषधी त ल्यायो, तर घोटालाको मामिलामा सेनामाथि पनि शंका हुने गरेको छ ।

अर्कातिर, बाहिरबाट सेनालाई हेर्दा चुस्त र स्फुर्त संगठन जस्तो देखिन्छ । तर, त्यहाँभित्र अनेकन भद्रगोल रहेछन्, विशेषतः सेवा–शर्तका मामिलामा । नेपाली सेनामा अधिकृतको रुपमा भर्ना हुन प्रमाणपत्र वा प्लस टु तह पास गरेपछि पुग्छ ।

तालिममै स्नातक बनाइन्छ । लेखामा जागिर खानेहरूले पनि आइकम पढे, बिबिएस, बिबिएको कोर्ष गरेनन् । तर, उनीहरू नै लेखातर्फ महासेनानी बनेका छन् । जबकि, महासेनानी हुनका लागि अरुका हकमा स्नातकोत्तर गर्नुपर्ने प्रावधान छ । अचम्म कस्तो भने, हवाई सुरक्षातर्फ निमित्त मेजर जनरल छन्, पढाई जम्मा आइए पास ।

डाक्टरले पिजी गरेजस्तो एसएलसी पास गरेपछि पाइलट कोर्ष गरेर जागिरमा भर्ना भएकाहरू औपचारिक शिक्षाबिना नै पदोन्नती पाउँदै मेजर जनरलसम्म बन्ने स्थिति सेनाभित्र विद्यमान छ । त्यसैले अब प्रथम श्रेणीको अधिकृत (फुल कर्णेल) हुनकै लागि स्नातकोत्तरको प्रावधान बनाउने तयारी भइरहेको बुझिएको छ । इन्फेन्ट्रीका अफिसरले जर्नेल हुन पनि स्नातक गर्नुपर्ने प्रावधान छ ।

एउटा अधिकृतले क्याडेट कोर्षकै क्रममा स्नातक उपाधी त पाएको हुन्छ । तर, त्यो बाहिरी शिक्षा हुँदैन । स्टाफ कलेजले स्नातकोत्तरको मान्यता पाउँछ । त्यसपछि पदोन्नतीकै लागि हायर कमाण्ड तालिम गराए पनि औपचारिक शिक्षा दिइँदैन । त्यो त तालिम मात्रै हो ।

अर्कातिर, यत्रो कोरोना महामारीका बीचमा पनि सेनाको स्टाफ कलेज कोर्ष भने चलिरहेको छ । उक्त कोर्षका लागि नेपालमा १२ देशकै सेना नआए पनि पाँच–सातवटा देशका आएका छन्, क्लास चलिरहेको छ । उनीहरू आफ्नो देशबाट कुनै हिसाबले मध्यपूर्वसम्म आउने र त्यहाँबाट नेपाल छिर्ने गरेका छन् । नेपालबाट पनि विभिन्न मुलुकमा स्टाफ कलेज गर्न सेनाहरू पुगेका छन् ।

भारतसम्म त स्थलमार्गबाटै जाने भए, त्योभन्दा पनि बेलायतलगायत टाढा–टाढा जाने क्रम जारी छ । किनभने, आधारभूत तालिम रोकियो भने प्रणालीमै समस्या हुन्छ । यसकारण जतिसुकै दुःख भए पनि भविष्य सम्झिएर सेनाहरू यसरी दौडधुपमा लाग्ने गरेका हुन् ।

उता, सैनिक अस्पतालमा कोरोनाबाट ७०–८० चिकित्साकर्मी प्रभावित भएका छन् । ती सबैलाई खरिपाटीस्थित क्वारेन्टिनमा राखियो । छिटो छिटो निको भएर फेरि ड्युटीमा फर्किए । कस्तो अचम्म भने, घाँटी खसखसाएको छैन, तर कोभिड पोजिटिभ रिपोर्ट आएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७