जुन पार्टीको टाउको ठूलो छ, त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्दा हुन्छ : वरिष्ठ नेता नेपाल


३१ भाद्र २०७७, बुधबार
madhav kumar nepal 2

काठमाडौं, ३१ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आफूले राखेको फरक मत कसैविरुद्ध नभई पार्टी र संगठनलाई चुस्त बनाउनका लागि राखेको स्पष्ट पारेका छन् ।

पार्टीभित्रको विवाद हल भइसकेको अवस्थामा समेत १७ बुँदे सुझाव दिनुको मुख्य कारण पार्टीभित्रको सहमतिलाई थप मजवुत बनाउनु र पार्टीलाई थप बलियो बनाउनुका लागि भएको नेता नेपालले बताएका छन् । आफूले पार्टी र सरकारकै हितका लागि लिखित र मौखिक रुपमा सुझाव दिएको बताउँदै नेता नेपालले यसलाई सुझावकै रुपमा लिनु र बुझ्नु पर्ने बताए ।

आफूले राखेको सुझाव कार्यान्वयन भएको खण्डमा पार्टीलाई ट्रयाकमा आउने र सहि दिशामा अगाडि बढ्ने दावी गर्दै नेता नेपालले भने, ‘अधिकतम उद्देश्यलाई पूरा गर्न नसके पार्टीको औचित्य नै रहँदैन, मैले सहमतिलाई मजबुत बनाउन र अझ बढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाव प्रस्तुत गरेको हुँ ।’

नेता नेपालले अबको महाधिवेशन पछि बन्ने पार्टीका संरचनाहरु छरितो हुनुपर्ने बताएका छन् । उनले पार्टीका विभिन्न संगठन तथा कमिटीहरु छरितो भए मात्रै संगठन गतिशिल हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने दावी गरे ।

उनले भने, ‘जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थाले हुन्छ । टाउको ठूलो भूँडी ठूलो भयो भने त्यो मान्छे रोगी हो भनेर बुझ्नु भए हुन्छ । जसको जिउ पातलो छ, टाउको पनि ठिक्क छ, दिमाग सफा छ, र खुट्टा बलियो छ भने त्यसले जस्तोसुकै जिम्मेवारी बहन गर्न सक्छ । चुनौतिको सामना गर्नसक्छ । पार्टीको हकमा पनि त्यही कुरा लागू हुन्छ । पार्टीका दुई वटै खुट्टा र हात दह्रो हुनुपर्‍यो, जिउ स्लिम हुनुपर्‍यो, कमिटीहरु सिलिम हुनुपर्‍यो ।’

वरिष्ठ नेता नेपालले भदौ २५ गते स्थायी कमिटीमा जुटेको सहमतिले पार्टीलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरेका छन् । आफूले लामो समयदेखि उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय लागू भएको बताउँदै यसलाई निरन्तरता दिनु पर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७