संवैधानिक नियुक्ति टुंग्याउने ओली–प्रचण्ड गृहकार्य

शुक्रवार पेरिसडाँडामा सचिवालय बैठक, तीन एजेन्डा तय


१ आश्विन २०७७, बिहीबार
nekapa

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि अड्किएको संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने गृहकार्य शुरु गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार भएको छलफलमा ओली र प्रचण्डबीच भएको छलफलमा अड्किएका नियुक्ति छिटो टुंगो लगाउन विहीबार बालुवाटारमा कांग्रेससँग छलफल गर्ने समझ्दारी समेत बनेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डले कांग्रेस सभापति शेरबहादुरसँग त्यसबारे छलफल गरेर टुंग्याउने प्रयास गर्ने नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङले जानकारी दिए । ओली र प्रचण्डसँगको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

दुई अध्यक्षसँग वुधबार बेग्लाबेग्लै बालुवाटारमा भेटेका नेता नेम्बाङले नयाँ पत्रिकासँग भने,‘उहाँहरुले त्यसअनुसार छलफल गरेर विहिबार प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तय गर्नुभएको छ, सम्भवत सभापति शेरबहादुर देउवासँग विहिबार कुराकानी हुनेछ ।’ छलफलमा नेकपाका तर्फबाट नेम्बाङ र कांग्रेसका तर्फबाट रमेश लेखक पनि सहभागी हुनेछन् ।

संवैधानिक अंगहरुमा छिटो नियुक्ति गर्ने विषयमा ओली र प्रचण्डले १ भदौमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । त्यसबारे पार्टीभित्र पनि छलफल आवश्यक रहेको भन्दै ओलीले पार्टी बैठकबाट धारणा तय गरेपछि अर्को पटक छलफल गरेर टुंग्याउने देउवालाई अवगत गराएका थिए । नेकपाका नेता नेम्बाङले विगतको छलफलको निरन्तरताकै क्रममा सकभर विहिबारै टुंग्याउनेगरी छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।

संवैधानिक परिषदमा प्रमुख प्रतिक्षी दलका नेता पनि सदस्य रहने व्यबस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहितका कतिपय संवैधानिक अंग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि स्थान सुरक्षित गर्ने कोशिस गर्दै आएको छ । ती अंगहरुमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्ष नेताहरुको चासो पनि सम्बोधन गर्नुपर्ने बाध्यतामा ओली छन् ।

शुक्रवार पेरिसडाँडामा सचिवालय बैठक, तीन एजेन्डा तय

स्थायी कमिटी बैठक सकिएलगत्तै नेकपाले शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएको छ । पार्टी एकताका काम सक्ने, मन्त्रिपरिषद् पुनगर्ठन र संवैधानिकलगायतका निकायमा नियुक्तिका विषय बैठकका एजेन्डा तय भएका छन् ।

ओली र प्रचण्डबीच बुधवार भएको भेटमा सचिवालय बैठकको मिति र एजेन्डा तय भएका हुन् । स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनको निर्णय लिएको छ । यसबाहेक संवैधानिकलगायतका निकायमा नियुक्तिलाई पनि नेकपाले महत्वका साथ लिएको छ ।

यसबाहेक असोजभित्र पार्टी एकताका काम सक्ने स्थायी कमिटीको निर्णय छ । यी सवै निर्णयलाई व्यवहारिकरुपमै कार्यन्वयन गर्ने गरी सचिवालय बैठक बोलाइएको छ । अहिलेसम्म प्रधानमन्त्री निवास बालुवाटारमै सचिवालय बैठक बस्दै आएकोमा २६ भदौको स्थायी समिति बैठक पार्टी एकतासहित अघि बढेको सन्देश दिन ओली र प्रचण्ड पेरिसडाँडामा बैठक बोलाउन तयार भएका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७