जब मन्त्री नै प्याजमा ठगिए…

भारतले निर्यात रोक्दा नेपालमा कालोबजारी


१ आश्विन २०७७, बिहीबार
Lekhraj bhatta

काठमाडौं, १ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् । व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए । उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो ।

साधारण वेषभूषा र मास्क लगाएर अनुगमनमा निस्किएका भट्टलाई अधिकांश व्यापारीले चिनेनन् । अनुगमनका क्रममा बढी मूल्य लिएको, प्याज लुकाएको, नचिनेका उपभोक्तालाई छैन भनेर फर्काएको अभियोगमा ७ वटा पसल सिल गरिएको थियो । बल्खु बजारको थोक बिक्रेता एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनील केसीलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले सुनाए ।

ओझाका अनुसार प्याज लुकाउन प्रयोग गरिएको एक थान पिकअप भ्यान पनि नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको छ । बल्खु बजारकै २ पसलबाट २ सय ४० बोरा प्याज सिल गरिएको थियो। मन्त्री भट्ट नेतृत्वको अनुगमन टोलीले थप कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको छ ।

विभागले पनि बुधबारै बल्खु बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा बल्खु बजारका ४ व्यापारीसँग स्पष्टीकरण सोधिएको छ । यसअघि कालीमाटी बजारका ३ जना व्यापारीसँग मंगलबार स्पष्टीकरण सोधिएको थियो ।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा परेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सोमबारदेखि सबै प्रकारको प्याज निर्यातमा रोक लगाएको हो ।

दक्षिण भारतमा ठूलो पानी परेका कारण उत्पादन घटेको र उत्पादित प्याज पनि गलेर नष्ट भएका कारण भारतले आफ्नो बजारलाई नियन्त्रणमा राख्न निर्यात रोकेको हो। पानी परेका कारण भारतको आन्ध्र प्रदेश, कर्नाटक, दक्षिण भारतलगायत स्थानका प्याजको उत्पादनमा असर पुगेको छ ।

नेपालमा खपत हुने प्याजको कुल मागमध्ये झन्डै ९८ प्रतिशत भारतबाटै आयात हुन्छ । व्यापारीले अघिल्लो साता सस्तो मूल्यमा आयात गरेको प्याज अत्यधिक मूल्यमा बिक्री गर्न थालेका छन् ।

कालीमाटी तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले शनिबार ५४ रुपैयाँ प्रतिकिलो रहेको सुनाए । त्यसको थोक मूल्य आइतबार ५९, सोमबार ६० र मंगलबार ७५ रुपैयाँ कायम गरिएको थियो। खुद्रा पसलमा भने प्याज १ सयदेखि १ सय ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

नेपालमा ५ लाख मेट्रिक टन प्याजको माग छ। सरकारी दाबीअनुसार स्वदेशमा १ लाख ४८ हजार मेट्रिक टन मात्रै उत्पादन हुन्छ । बाँकी माग आयातले धानेको छ । कालीमाटी बजारमा आइतबार र सोमबार १ हजार ४ सय २३ टन प्याज आपूर्ति भएको थियो ।

यसमध्ये १ हजार ४ सय २० टन भारतबाट आयात भएको थियो भने बाँकी स्वदेशी उत्पादन हो । सामान्य समयमा काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन प्याज खपत हुन्छ । यससमध्ये कालीमाटीमा ७० मेट्रिक टन, बल्खु र बानेश्वरमा ३०र३० मेट्रिक टन कारोबार हुन्छ ।

यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० मेट्रिक टन कारोबार हुन्छ । उक्त बजारमा गत साउन र भदौमा ३ हजार ८ सय २ टन प्याज आपूर्ति भएकोमा ३ हजार ३ सय ५८ टन भारतीय प्याजको हिस्सा थियो ।

गत आर्थिक वर्षमा २४ हजार २ सय ७२ टन प्याज उक्त बजारमा आपूर्ति हुँदा भारतीय प्याजको हिस्सा २२ हजार ३५ टन थियो । नेपालमा वार्षिक रूपमा ६ अर्बभन्दा बढी मूल्यको प्याज आयात हुन्छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७