राष्ट्रियसभा सदस्यको सपथपछि वामदेवले के भने ? {भिडियाे}


२ आश्विन २०७७, शुक्रबार
Bamdev ghautam 1

काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन । संसद सचिवालयमा बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सथप गराएको हो ।

सरकारको सिफारिसमा बिहीबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गरेको थियो । सपथपछि अध्यक्ष तिमिल्सीनाले गौतमलाई सांसदको ब्याच लगाइदिएका थिए।

सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताए। आफ्नो पार्टीले देशमा समाजवादको संकल्प पूरा गरेको उल्लेख गर्दै गौतमले राष्ट्रिय सभामा रहेर आफूले त्यसका लागि भूमिका खेल्ने बताए।

‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधान बमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु। मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन,’ उनले भने।

गौतमले राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने बताए।

गौतमले कुनै वेला आफैँले पार्टी सदस्यता दिएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट शपथ लिन पाएकोमा खुसी लागेको भन्दै आभार व्यक्त गरे । ‘मलाई यो सभामा उपस्थित गराएर शपथ गराउने अध्यक्षज्यू कुनै वेला मेरो कार्यकर्ता हुनुहुन्थ्यो र मैले नै पार्टी सदस्यता प्रदान गरेको थिएँ,’ गौतमले प्रतिबद्धता मन्तव्यमा भने, ‘मैले आज सदस्यता प्रदान गरेको एकजना कमरेड राष्ट्रिय सभाको अध्यक्ष हुँदा मेरो छाती चौडा भएको छ । उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।’ 

सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी थिए ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७