डा. केसीको स्वास्थ्यमा समस्या, सुरक्षित स्थलमा सार्न चिकित्सकको सुझाब


३ आश्विन २०७७, शनिबार
govinda kc

जुम्ला, ३ असोज । पाँच दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनलाई २४ सै घण्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाएका छन् ।

शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका चिकित्सक प्रवीणकुमार गिरीको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको छ । चिकित्सकको टोलीले डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको बताएका छन् ।

चक्कर लाग्ने, मुटुको चाल बढेको, मांसपेशी बाउँडिने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी, रक्तचाप कम भइरहेको डा. गिरीले बताए । उनको दिनमा तीन पटक सामान्य जाँच भइरहेको बताउँदै उनले भने, ‘रगतमा चिनीको मात्रालगायत अन्य जाँच गर्न नमानेको, नशाबाट सलाइन लिन र अस्पताल पनि जान मान्नु भएको छैन ।’

त्यस्तै, डा. केसीलाई जतिसुकै वेला पनि जटिल स्वास्थ्य समस्या आउन सक्ने डा. अनुपमंगल समालले बताए । ‘रगतमा चिनीको मात्र अतिन्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि हुन सक्ने भएकाले स्वास्थ्य जटिलता आउन सक्छ,’ डा. समालले भने ।

त्यस्तै २४सै घन्टा नियमित रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक रहेको उनको भनाइ छ । शुक्रबार डा. गिरी, डा. समाल र सविना थापाको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको हो ।

डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित धर्मशालामा सत्याग्रहमा बसिरहेका छन् । हिमाली जिल्ला जुम्लामा चिसो पनि बढ्दै गएको र धर्मशालाको बरन्डामै बसिरहेकाले पाँच दिनमै स्वास्थ्य समस्या देखिन थालेको चिकित्सकले बताएका छन् ।

यसैबीच डा. केसीको सत्याग्रहको समर्थनमा नागरिक समाज, जुम्लाले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । उनका माग पूरा गर्न सरकारलाई दबाब दिन हस्ताक्षर संकलन थालिएको नागरिक समाज, जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७