राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान, २८९ कैदीबन्दीको कैद माफी–मिनाहा


३ आश्विन २०७७, शनिबार
bidhya bhandari

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मान पदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार ११४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन् ।
२८९ कैदीबन्दीको कैद माफी मिनाहा

राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फे समेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा असल चालचलन देखाएका र गम्भीर प्रकृतिको अपराधमा नपरेका कैदीलाई विभिन्न अवसरमा सजाय छुट दिएर छाड्न व्यवस्थाअनुसार जेलमुक्त गरिएको हो । यसरी छुट्ने कैदीमा सबैभन्दा धेरै वागमती प्रदेशका र कम कर्णाली प्रदेशका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रदेश १ का ६८ जना, प्रदेश २ का ३७ जना, वागमती प्रदेशका ८२ जना र गण्डकी प्रदेशका २३ जना कैदीको कैद मिनाहा गरिएको हो । त्यसैगरी, प्रदेश ५ का ५२, कर्णालीका १३ र सूदुरपश्चिम प्रदेशका १४ जना कैदीको कैद मिनाहा माफी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७