३६ हजार लिटर पेट्रोलमा साढे नौ हजार लिटर मट्टीतेल र केमिकल मिसावट

चालकको आम्दानी घटेपछि मिसावट गरेर कमाउने धन्दा


४ आश्विन २०७७, आईतवार
petrolium

काठमाडौं, ४ असोज । नेपाल आयल निगमले आयात र वितरण गर्दै आएको इन्धनमा मिसावटको घटना बारम्बार दोहोरिरहेको छ ।

पछिल्लो समय पेट्रोलमा ठूलो परिमाणमा मट्टीतेल र हानिकारक केमिकल (पेन्ट्समा प्रयोग हुने मिनरल टर्पेन्टाइन आयल) मिसावट गरिएको भेटिएको हो । निगमका दुई ठूला डिपो दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगन्ज र बागमती प्रादेशिक कार्यालय थानकोटमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट चारवटा ट्यांकरमा ल्याइएको ३६ हजार लिटर पेट्रोलमा साढे ९ हजार लिटर मट्टीतेल र हानिकारक केमिकल मिसावट भएको पुष्टि भएको हो ।

गत शुक्रबार निगमका दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा बरौनीबाट पेट्रोल बोकेर ना.७ख ४०९३ नम्बरको ट्यांकर आएको थियो । सो ट्यांकरको गुणस्तर परीक्षण गर्नेक्रममा तापक्रमको अन्तिम अवस्था २ सय ३० डिग्री प्रतिसेन्टिग्रेड पाइएको थियो । अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीका अनुसार तापक्रमको अन्तिम अवस्था बढीमा २ सय सेन्टिग्रेड प्रतिमिटर हुनुपर्नेमा त्यसभन्दा बढी देखिएको हो ।

‘आइओसीबाट आएको पेट्रोलको तापक्रम औसतमा १ सय ९५ डिग्री प्रतिसेन्टिग्रेड हुने गरेको छ । हामीले २ सय डिग्री प्रतिसेन्टिग्रेडभन्दा बढी तापक्रम रहेको तेल पाइए बजार पठाउँदैनौँ,’ उनले भने, ‘शुक्रबार आएको एउटा ट्यांकरमा तोकिएभन्दा बढी तापक्रम रहेको पाएपछि चालकलाई समातेका छौँ र ट्यांकरको पेट्रोल डिपोमा नखन्याई राखेका छौं ।’

सो ट्यांकरको ४ हजार लिटर क्षमताको एउटा च्याम्बरमा तोकिएभन्दा बढी तापक्रमको पेट्रोल भेटिएको थियो । ‘पेट्रोलमा तापक्रम बढी हुनु भनेको मट्टीतेल मिसावट हुनु हो,’ रेग्मीले भने, ‘यो ट्यांकरमा चार हजार लिटरको चेम्बरमा एक हजार लिटर मट्टीतेल मिसाएको हाम्रो आकलन छ ।’ सो ट्यांकरका चालक सन्तोष खड्कालाई निगमले प्रहरीको जिम्मा लगाएको छ भने ट्यांकर साहु वैकुण्ठ बलामीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै, सोही डिपोमा गत आइतबार ना७ख ३९२३ नम्बरको ट्यांकर पेट्रोल बोकेर आएको थियो । सो ट्यांकरका ४–४ हजार लिटर क्षमताका तीनवटा च्याम्बरको पेट्रोल परीक्षण गर्दा तापक्रम १ सय ८६ डिग्री प्रतिसेन्टिग्रेड पाइएको थियो । ‘यो तोकिएभन्दा कम तापक्रम हो । यसलाई भने ठिकै मान्ने गरिएको छ,’ उनले भने, ‘तर, घनत्व नाप गर्दा धेरै फरक पाइयो ।’

उनका अनुसार पेट्रोलको घनत्व बढीमा ७ सय ४० किलोग्राम प्रतिमिटर हुनुपर्नेमा ८ सय किलोग्राम प्रतिमिटर भेटिएको थियो । स्रोतका अनुसार तापक्रम कम हुने र घनत्व बढी हुने विशेषता मट्टीतेलमा हुँदैन ।

‘पेन्ट्समा प्रयोग हुने गुणस्तहीन र सस्तो मूल्यको मिनरल टर्पेन्टाइन आयल भन्ने हुन्छ । जुन बाक्लो हुन्छ र पेट्रोलमा सजिलै घुलमिल हुन्छ । यही वस्तु मिसावट गरेको प्रारम्भिक निष्कर्ष छ,’ स्रोतले भन्यो । घनत्व बढ्ने गरी तीनवटा चेम्बरमा कुल १२ हजार लिटर पेट्रोलमा ३ हजारदेखि ४५ सय लिटरसम्म मिनरल टर्पेन्टाइन आयल मिसावट गरिएको अनुमान छ ।

तीन दिनमा दुईवटा ट्यांकरमा मिसावटको घटना देखिएपछि अमलेखगन्ज डिपो प्रमुख रेग्मीले जिल्ला प्रहरी कार्यालयसँग समन्वयमा ना७ख ३९२३ नम्बरका ट्यांकर चालक राजेश विकलाई पक्राउ गरिएको छ ।

लगातार तेलमा मिसावट भएको पाएपछि अमलेखगन्ज डिपोले बरौनीबाट आएको तेलको गुणस्तर परीक्षणमा कडाइ गरेको थियो । त्यसक्रममा गत मंगलबार पेट्रोल लिएर आएको ना७ख १६५७ नम्बरको ट्यांकरको परीक्षण गर्दा घनत्व ७ सय ६० किलो प्रतिमिटर पाइएको थियो ।

‘४–४ हजार लिटरका तीनवटा चेम्बरमा गरी कुल १२ हजार लिटर पेट्रोलमा ७ सय ६० का दरले घनत्व पाउँदा १५ सयदेखि २ हजार लिटरसम्म मिनरल टर्पेन्टाइन आयल मिसावट भएको अनुमान छ,’ स्रोतको भनाइ छ ।

सो ट्यांकरका चालक सञ्जीवकुमार लामा फरार छन् । ट्यांकरका साहु सुरेन्द्र श्रीवास्तव पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय पदाधिकारी तथा बारा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष हुन् ।

अमलेखगन्ज डिपोमा आएको पेट्रोलमा मिसावट पाएपछि अन्य डिपोमा पनि परीक्षणमा कडाइ गर्न थालिएको छ । यसैक्रममा बागमती प्रादेशिक कार्यालय, थानकोटमा बिहीबार आइओसीको बरौनी रिफाइनरीबाटै पेट्रोल बोकेर आएको ना४ ख ७२५६ नम्बरको ट्यांकरका दुईवटा चेम्बरमा रहेको ८ हजार लिटर पेट्रोल परीक्षण गर्दा करिब २ हजार लिटर मट्टीतेल मिसावट भएको भेटिएको छ ।

थानकोट डिपो प्रमुख प्रदीप यादवका अनुसार घनत्व ७ सय ४० किलो प्रतिमिटर हुनुपर्नेमा ७ सय ६० किलो प्रतिमिटर र अन्तिम तापक्रम अवस्था १९५ डिग्री प्रतिसेन्टिग्रेड हुनुपर्नेमा २९५ डिग्री प्रतिसेन्टिग्रेड थियो । ‘यो भनेको मट्टीतेल मिसावट हो,’ यादवले भने, ‘मैले चालकलाई तुरुन्त कारबाही गर्न सबै विवरण राखेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र पठाइसकेको छु ।’

चालकलाई प्रहरीले, ट्यांकर साहुलाई निगमले कारबाही गर्दै
आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीका लागि जारी गरेको विनियमावलीले चालकहरूलाई कुनै सुविधा वा कारबाहीको व्यवस्था गरेको छैन ।

ट्यांकर करार सम्झौतामा लिएर इन्धन ढुवानी भइरहेकाले ट्यांकरधनीलाई मात्रै नियमन गर्ने व्यवस्था छ । त्यसैले तेल चोरीको घटनामा चालकको दोष भेट्टाउनासाथ निगमले प्रहरीको जिम्मा लगाउने गरेको छ ।

अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीले पेट्रोलमा मिसावट गरी चालकहरूले राष्ट्रिय सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएकाले कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको बताए । ‘ट्यांकरधनीको मिलेमतो विना चालक एक्लैले तेल चोरी गर्न र मिसवाट गर्न सक्दैनन्,’ स्रोत भन्छ ।

इन्धन अपचलनमा ट्यांकरधनीको संलग्नता हुने भएकाले नै निगमले विनियमावलीमा कारबाहीको व्यवस्था गरेको छ । यसपटक चालक र ट्यांकरधनीले मिलेर मिसावट गरेको भएकाले चारवटै ट्यांकरलाई ६ महिनासम्म इन्धन ओसार्न प्रतिबन्ध लगाउने निगमको तयारी रहेको छ ।

लकिङ पूर्ण रूपले असफल
अढाई वर्षअघि आयल निगमले भारतबाट तेल लिएर आउने ट्यांकरमा आधुनिक लकिङ जडान गरेको थियो । सो लकिङ जडान भएपछि बीचबाटोमा हुने चोरी र मिसावट रोकिने निगमको दाबी थियो । तर, पछिल्लो एक हप्तामा भएको यो मिसावट प्रकरणले लकिङ प्रणाली असफल भएको पुष्टि हुन्छ ।

‘ट्यांकरको ताला र साँचो केही तोडिएको छैन, दुरुस्तै छ,’ स्रोत भन्छ, ‘तर, भित्र भएको इन्धनमा ठूलो परिमाणको मट्टीतेल र हानिकार केमिकल मिसावट भएको देखिन्छ ।’ आइओसीको आर्थिक सहयोगमा जडान गरिएको लकिङको फेब्रिकेटर भारतीय हुन् । ट्यांकर चालकले तिनै फेब्रिकेटरसम्म पहुँच पुर्‍याएर लकिङ खोल्ने, तेल झिक्ने वा मिसावट गर्ने र पुनः लकिङ लगाएर नेपाल ल्याउने गरेको स्रोतको भनाइ छ ।

भारतमा कोटाको मट्टीतेल धेरै सस्तो पर्छ । यस्तो मट्टीतेल पेट्रोलपम्पहरूले बचाएर राखेका हुन्छन् । त्यस्तै, कोटाको मट्टीतेल बिक्री गर्ने डिलरहरू पनि धेरै छन् । उनीहरूसँग ट्यांकरचालकले पहुँच विस्तार गरेर सस्तो मट्टीतेल खरिद गर्ने गरेका छन् ।

त्यसपछि गुणस्तर पेट्रोल, डिजेल झिकेर भारतीय पम्प वा अन्य व्यवसायीलाई बजार मूल्यभन्दा सस्तोमा दिने र जति परिमाण झिकेको हो, त्यति नै परिमाण मट्टीतेल मिसाएर ल्याउने गरेका छन् ।

चालकको आम्दानी घटेपछि मिसावट गरेर कमाउने धन्दा
आयल निगमले करार सम्झौतामा प्रयोग गरिरहेका ट्यांकरहरूले औसतमा एक महिनामा चार पटक इन्धन ओसार्ने पालो पाउँछन् । एकपटक इन्धन ओसार्दा चालकलाई ट्यांकर धनीले करिब ५ हजार रुपैयाँ भत्ता दिन्छन् ।

चालकहरूले प्रतिमहिना औसतमा १५–२० हजार रुपैयाँ मात्र तलब बुझ्ने गरेका छन् । यसरी उनीहरूले सामान्य अवस्थामा सबै खर्च कटाएर भत्ता र तलब गरेर ३५–४० हजार रुपैयाँ कमाइ गर्दै आएका थिए । तर, कोरोना भाइरसका कारण इन्धनको माग २५–३० प्रतिशतमा झरेपछि एउटा ट्यांकरले महिनामा १ पटक मात्र इन्धन ओसार्ने पालो पाइरहेको छ ।

इन्धन ओसार्ने पालो नै घटेको हुँदा चालकहरूको कमाइ करिब आधा घटेको छ । उनीहरूले घटेको कमाइ पूर्ति गर्न सस्तो मूल्यमा मट्टीतेल र कम मूल्यमा पाइने न्यून गुणस्तरको केमिकल मिसावट गर्न थालेको स्रोतको भनाइ छ । ‘ट्यांकरको पेट्रोल झिकेर भारतका विभिन्न पम्पमा बिक्री गर्ने र त्यसबराबरको परिमाण मट्टीतेल र न्यून गुणस्तरको घुलनशील केमिकल हाल्ने गरेको प्रारम्भिक निष्कर्ष छ,’ स्रोतले भन्यो ।

अहिलेसम्म एउटा इन्धनमा अर्को प्रकारको इन्धन मिसावटको मात्र घटना देखिएको थियो । तर, यसपटक केमिकल नै मिसावट गरेर चालकहरूले इन्धन गुणस्तरमा व्यापक लापरबाही गरेको पुष्टि भएको छ ।

उनीहरूलाई भविष्यमा इन्धन ओसार्न वञ्चित हुने गरी कारबाही गर्ने निगमको तयारी छ । यसअघि गत १५ भदौमा धनुषाको महेन्द्रनगर कार्यालयबाट चार ट्यांकरचालकले इन्धन चोरी गर्न खोजेको पुष्टि भएपछि निगमले ५ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७