प्रहरीमा ३६ सय २६ संक्रमित, आधा निको भए, आधा उपचारमा

दुई हजार ७५ सैनिक र एक हजार ३६ सशस्त्र प्रहरी पनि संक्रमित


५ आश्विन २०७७, सोमबार
korona police

काठमाडौं, ५ असोज । नेपाल प्रहरीका तीन हजार ६२६ कर्मचारीमा कोरोना संक्रमण भएको छ । यो संख्या प्रहरीको कूल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् ।

प्रहरीमा ७९ हजार दरबन्दी छ । तर, अहिले कार्यरत भने करिब ६७ हजार छन् । संक्रमितमध्ये एक हजार आठ सय १७ जना उपचाररत रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । ‘संक्रमण बढ्दो छ । अब उच्च मनोबलका साथ जुधेर अघि बढ्नुको विकल्प भएन,’ उनले भने, ‘आधा प्रहरी निको भएर ड्युटीमा फर्किएकाले ठूलो समस्या छैन ।’

उपत्यकामा करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १३ प्रतिशतभन्दा धेरै संक्रमित भइसकेका छन् । उपत्यकामा मात्र एक हजार तीन सय ३० प्रहरी संक्रमित भएका छन् । जसमध्ये ६ सय ५२ जना निको भइसकेको महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवले बताए । उपत्यकाका सबैजसो कार्यालयका प्रहरीमा संक्रमण देखिएको छ ।

भिड नियन्त्रणदेखि अभियुक्त पक्राउ पर्नेसम्मका काममा खटिँदा संक्रमण सरेको प्रहरीले जनाएको छ । भिडमा हिँड्ने र साँघुरो ब्यारेकमा बस्ने भएकाले एक प्रहरीलाई संक्रमण भएमा केही दिनमै धेरैलाई सर्ने गरेको छ । प्रहरीमा संक्रमण हुँदा प्रहरीबाट समुदायमा संक्रमण फैलने जोखिम पनि बढ्दो छ ।

सेना र सशस्त्र प्रहरीमा पनि संक्रमण बढ्दो छ । सेनामा दुई हजार एक सय ७५ संक्रमित भएका छन् । उनीहरूमध्ये चार सय एक जना निको भइसकेका छन् । त्यस्तै, सशस्त्र प्रहरीमा एक हजार ३६ संक्रमित भइसकेका छन् । तीमध्ये तीन सय ६६ निको भइसकेको सशस्त्र प्रहरीले जनाएको छ । संक्रमण बढ्दै गएपछि क्वारेन्टिनमा बस्नुपर्ने प्रहरी समेत ड्युटीमा खटिनुपर्ने अवस्था छ ।

६ महिना बित्दा पनि पाइएन प्रोत्साहन भत्ता
अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सरकारले दिने घोषणा गरेको प्रोत्साहन भत्ता तथा खाजा खर्च पनि ६ महिनासम्म दिइएको छैन ।

गत चैतमै सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । अन्य स्रोत–साधनका लागि समेत पर्याप्त बजेट प्राप्त नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सरकारले निजामती कर्मचारी तथा सुरक्षाकर्मीको कोरोना बिमा गरेको छ । तर, बिमा गर्नुभन्दा अघि संक्रमित कर्मचारी तथा सुरक्षाकर्मीको हकमा के हुने भन्ने अन्योल छ । नेपाल प्रहरीले १२ भदौदेखि लागू हुने गरी सबै कर्मचारीका बिमा गरेको थियो ।

त्यसअघि नै करिब एक हजार प्रहरी संक्रमित भइसकेका थिए । उनीहरूको हकमा छुट्टै निर्णय गर्ने बताइएको थियो । तर, अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७