कर्णालीमा कहालीलाग्दो जीवन

राष्ट्रिय अनुपातमा कर्णालीको औसत आयु ६ वर्ष र प्रतिव्यक्ति आय आधा कम


६ आश्विन २०७७, मंगलवार
chart.jpg .2020 09 22

कर्णाली, ६ असोज । चिकित्सा शिक्षा सुधारसहितका विभिन्न माग राख्दै डा. गोविन्द केसीले अहिले र यसअघिको सत्याग्रह कर्णालीमा थाल्नुको कारण थियो– स्वास्थ्यका अधिकांश सूचकांकमा पछाडि रहेको कर्णालीका समस्यामाथि राज्यको आँखा परोस् ।

कर्णालीवासीका स्वास्थ्य समस्याप्रति सरकार गम्भीर बनोस् । उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर तत्काल एमबिबिएसलगायतका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने प्रमुख माग नै बनाएका छन् ।

कर्णालीमा कुल प्रजनन दर (प्रतिमहिलामा जीवित जन्म हुने बच्चाको संख्या) दुई दशमलव आठ छ । नवजात शिशुको मृत्युदर (जन्मेको २८ दिनभित्र) प्रतिहजारमा २९ छ । शिशु मृत्युदर (जन्मेको एक वर्षभित्र) प्रतिहजारमा ४७ छ । पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा ५८ छ ।
त्यस्तै, उमेरअनुसार उचाइ नपुगेका (पुड्का) पाँच वर्षमुनिका बालबालिका ५५ प्रतिशत छन् ।

अस्पतालमा सुत्केरी हुने महिला ३६ प्रतिशत मात्रै छन् । दक्ष स्वास्थ्यकर्मीसँग गर्भवती सेवा पाउने १५ देखि ४९ वर्षका विवाहित महिला ७३ प्रतिशत र सबै आधारभूत खोप पाउने बालबालिका ७५ प्रतिशत मात्रै छन् । राष्ट्रिय औसत आयु ७१ प्रतिशत हुँदा कर्णालीका बासिन्दाको औसत आयु ६५.६ वर्ष मात्रै छ ।

यस्तो दयनीय स्वास्थ्य अवस्था रहेको कर्णालीमा डाक्टरहरूको दरबन्दी भने ६१ जनाको मात्रै छ । तीमध्ये पनि कार्यरत ३३ जना मात्रै छन् । उनीहरू पनि परेको वेला जिल्लामा भेटिँदैनन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त निकाय भएकाले त्यहाँ कार्यरत चिकित्सकको संख्या स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छैन । प्रतिष्ठानमा १५ विशेषज्ञ चिकित्सक र २९ जना अन्य मेडिकल डाक्टर कार्यरत छन् ।

कर्णालीका दश जिल्लामा प्रादेशिकदेखि जिल्लासम्मका गरी १५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र तीन सय ३६ स्वास्थ्य चौकी छन् । त्यस्तै, प्रदेशस्तरमा एक, जिल्लास्तरमा नौ र स्थानीय तहमा १८ वटा आयुर्वेद औषधालय छन् । देश संघीय संरचनामा गएपछि ७७ वटै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गरिएकाले तिनीहरूको संख्या र अवस्थाबारे स्वास्थ्य मन्त्रालय अनभिज्ञ छ ।

विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्याका लागि एकजना चिकित्सक हुनुपर्ने मापदण्ड बनाएको छ । तर, कर्णालीमा २२ हजार जनसंख्याको भागमा एक चिकित्सक पर्छ । प्रदेशमा १७ लाख ६९ हजार जनसंख्या छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार नौ सय ७८ चिकित्सकको दरबन्दी छ । तर, करिब एक हजार चार सय चिकित्सक मात्रै कार्यरत छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा कम दरबन्दी कर्णालीमा छ । नेपाल मेडिकल काउन्सिलको रेकर्डअनुसार देशमा २६ हजार तीन सय ४६ चिकित्सक उत्पादन भएका छन् ।

नेपाल चिकित्सक संघका पूर्ववरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलका अनुसार देशमा हाल करिब १५ हजार चिकित्सक सक्रिय छन् । उनीहरूमध्ये १४ सयको संख्यामा मात्रै सरकारी सेवामा छन् । बाँकी चिकित्सक प्रतिष्ठान, निजी अस्पतालसँग आबद्ध भएको उनले बताए ।

‘देशभर कार्यरत चिकित्सकमध्ये पनि ८० प्रतिशत काठमाडौं, विराटनगर, भरतपुर, धरान, पोखरालगायतका सहरमा मात्रै छन् । २० प्रतिशत चिकित्सकले मात्रै दुर्गमका करिब १ करोड जनतालाई सेवा दिइरहेका छन्,’ डा. पौडेलले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा.मंगल रावलले एमबिबिएससहित सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न सकेमा प्रतिष्ठानलाई नमुना बनाउन सकिने बताए । ‘स्वास्थ्य क्षेत्रमा अहिले पनि निकै पछाडि परेको छ कर्णाली । तर, विगतमा भन्दा केही अगाडि पनि बढेको छ,’ उनले भने । प्रतिष्ठानलाई हाल चिकित्सा शिक्षा आयोगले एमडी–एमएसको तीन वटा सिट दिएको छ । यसै वर्षबाट पठनपाठन सुरु हुने डा. रावलले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७