तीनधारा झरनाका कारण फेरिंदै काफलडाँडाको मुहार


प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार ००:००

बनेपा, ६ असोज । पहिले गाई बाख्रा चराउन र घाँस दाउरा गर्न जाने स्थानीयको मात्र भेटघाट हुने गरेको काफलडाँडामा हिजोआज दैनिक एक हजारभन्दा बढीको सङख्याका मानिसको आवतजावत भइरहेको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडास्थित पर्यटकीयस्थल तीनधारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । यससँगै यहाँका स्थानीयमा खुशी छाएको पनि उनीहरु बताउँछन् ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत झरनाको बारेमा प्रचार भएसँगै अहिले सो क्षेत्रमा काभ्रेपलाञ्चोक जिल्लालगायत छिमेकी विभिन्न जिल्लाबाट समेत झरना अवलोकन गर्न जानेहरु बढेका छन् ।

बनेपा नगरपालिका वडा नं १२ का मुकुन्द शर्माले सामाजिक सञ्चालमार्फत थाहा पाएर झरना हेर्न यहाँ आएको बताए । ‘जति थाहा पाएको थिएँ, यहाँ आइपुग्दा भने छुट्टै आनन्दाको अनुभूति हुँदो रहेछ’, उनले भने । बाटो असहज भए पनि झरना पुगेपछि त्यहाँको आकर्षक प्राकृतिक सौन्दर्यले गर्दा सबै दुःख कष्ट भुल्ने उहाँको अनुभव छ ।

झरना पुग्ने बाटोको सुधार गर्दै पर्यटन पूर्वाधारको कामलाई अझ व्यवस्थित गर्न सकेको खण्डमा यस झरना नेपालको एक प्रमुख आकर्षक गन्तव्य बन्ने उनको भनाई छ । स्थानीयवासीको पहल र स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा यो ठाउँको संरक्षण र विकासका लागि थप लाग्नुपर्ने उनले सुझाए ।

ललितपुर पाटनढोकाका प्रेम सुनुवार पनि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राखेको झरनाको दृष्य र तस्वीर देखेपछि घुम्न आएको बताए । ‘झरना जति मनमोहक छ, त्यति नै दृष्यावलोकन गर्ने ठाउँ, डाँडाहरुमा हिँड्डुल गर्न जोखिम अवस्था पाएको छु, त्यस्ता अप्ठ्यारा स्थानमा बार लगाएर जान मिल्ने र नमिल्ने ठाउँलाई व्यवस्थापन गर्न आवश्यक देखें’, उनले भने ।

काठमाडौं महाराजगञ्जका विमला विष्टले प्राकृतिकस्थल भएका कारण यसलाई बढी सिँगार गर्नुभन्दा यस्तै अवस्थालाई संरक्षण गरेर राख्न सकेमा मात्र पनि यस स्थान र यहाँको झरना सुन्दर हुने बताए ।

आउँदा बाटोको कारण अप्ठ्यारो भए पनि झरना पुगेपछि निकै आनन्द मिलेको उनको अनुभव छ । यहाँ आउनेहरुले यहाँ रहेको कुण्डलाई अलि फराकिलो बनाएर बार लगाएको खण्डमा थप आकर्षक हुने र यसले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने सुझाव दिएका छन् ।

स्थानीय सरकारको सहयोगको अपेक्षा

यो झरना र स्थानीय अरु आकर्षकस्थलको प्रचार गरेर विकासको पहल त स्थानीयले शुरु गरिसकेका छन् । तर थप विकास र प्रवद्र्धनका लागि स्थानीय तथा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनीहरुको भनाइ छ । यस वडाका अध्यक्ष पोते लामाले महाभारत क्षेत्रको भुरुङ्गे लेकबाट निस्केको मुहानबाट आएकोे झरना तीन ठाउँबाट झरेका कारण तीनधारा नाम रहेको बताए ।

लेकको स्वच्छ पानी भएको र जसले छाला रोगसम्बन्धी बिरामीले त्यहाँ नुहाएमा निको हुने भन्ने जनविश्वास समेत रहेको वडाध्यक्ष लामाले बताए । सो झरनादेखि पूर्वमा अर्का दुई झरना रानी झरना र महावीर झरनासमेत उत्तिकै आकर्षक र मनमोहक रहेको उनले बताए ।

रोशी गाउँपालिकाका प्रवक्ता पदमबहादुर लामाले रोशी गाउँपालिकाभित्रको पर्यटकीयस्थलमध्येको महत्वपूर्ण झरना भएको ठाउँ वडा नं २ को काफलडाँडालाई पर्यटकी क्षेत्र घोषणा गरिसकिएको र पर्यटन बोर्डमा पनि संरक्षणको लागि पहल भइरहेको बताए ।

पालिकाले प्राविधिक टोली खटाएर झरनामा आउने जाने ठाउँको करिब एक किलोमिटरको आप्ठ्यारो बाटोलाई आउने जाने गरी दुईतिर बनाउने र झरना आसपासमा हिंडडुल गर्न सहज हुने गरी तारबार गर्ने तयारीमा रहेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले त्यो ठाउँसम्म पुग्ने बाटोको अवस्था अलिक कठिन भएकाले त्यसलाई व्यवस्था गर्ने पहिलो दायित्व भएकाले यस विषयमा थप कार्य अघि बढाइने बताए । उनले त्यससँगै टाढाटाढाबाट आएर त्यहाँ पुग्ने पर्यटकलाई बस्नको लागि पनि व्यवस्था गर्नुपर्ने देखिएकोले वडासँग समन्वय गरेर आवश्यक पूर्वाधारको काममा पालिका लागिरहेको बताए ।

त्यसको लागि प्राविधिक र विज्ञ टोली खटाएर अनुसन्धान गरिरहेको जानकारी पनि उनले दिए । पर्यटकहरको बासस्थानको लागि व्यक्ति वा समूहलाई मिलेर समूहमा घरबास बनाउने दिने र राम्रो बनाएको खण्डमा एउटा घरबास बराबर रु दश हजारसम्मको अनुदान पनि दिने व्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।

पर्यटक बढेपछि व्यवसाय शुरु

पहिला घरायसी सामान किन्नको लागिसमेत तल बेंसीको पलह झर्नुपर्ने चण्डी र काफलडाँडाका स्थानीयबासिन्दाहरुले अहिले झरनाका कारण यहाँसम्म आउने आन्तरिक पर्यटककहरको वृद्धि भएसँगै बाटो छेउछाउमा व्यवसाका लागि पसल राख्न संरचनाहरु निर्माण गर्ने काम थालेका छन् । बाटो छेउमा जग्गा हुनेले आफ्नै र कसैले भाडामा समेत ठाउँको व्यवस्थापन गरेर सानोतिनो पसल राख्न संरचना निर्माण गर्नेदेखि नाङ्लो पसल समेत राखेर आम्दानी गर्नेहरु बढ्न थालेका छन् ।

काफलडाँडाका ईश्वरी मगरले झरना हेर्न आउनेको संख्यामा वृद्धि हुँदै गएपछि करिब एक हप्तादेखि बाटो छेउमा पसल राख्न शुरु गरेको बताइन् । ‘मान्छेको आगमन बढ्दै गएपछि अलिअलि भए पनि हुन्छ कि भनेर व्यापार गर्न थालेको हुँ’, उनले भनिन्, ‘दैनिक गुजारा गर्न पुग्ने व्यापार भएको छ ।’ उनी मात्रै नभई त्यहाँका अरु गाउँलेले पनि त्यसरी नै यहाँ फलेका फलफूलका साथै अरु पनि केही स्थानीय उत्पादनहरु राखेर सानो पसलबाट व्यवसाय शुरु गरेका छन् ।

सोही डाँडामा मःमः तथा खाजा पसल शुरु गरेका मनोज बराईलीले अचेल दैनिक रु चारदेखि पाँच हजारसम्म आम्दानी भएको बताए । रोशी गाउँपालिका वडा नं १ नारायणटार घर भई धुलिखेलमा स्नातक तहमा अध्ययन गर्दै आएका उनी कोरोना भाइरसको महामारीले बन्दाबन्दी भएपछि गाउँमा आएर बसे ।

घरमा लामो समयसम्म बसेपछि केही व्यापार व्यवसायको खोजीमा रहेका उनले पर्यटकको आवागमन बढ्न थालेपछि सोही स्थानमा मम पसल शुरु गरेको बताए । उनले स्थानीय वीरबहादुर मगरको घर भाडामा लिएर सो पसल शुरु गरेका हुन् । तीन जना मिलेर पसल शुरु गरेको र अहिले दैनिक राम्रै आम्दानी भएको बराईलीले जानकारी दिए ।

उनी मात्रै होइन झरनामा आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि यहाँका स्थानीयवासीले दर्जनौँ ठाउँमा पसल राख्न शुरु गरेका छन् । जसका कारण यहाँको व्यावसायिक कार्यको शुरुआत त भएकै छ यहाँ दैनिक जीवनमा समेत परिवर्तन आउन थालेको र यहाँका युवाहरु काममा व्यस्त हुन थालेको स्थानीयवासी बताउँछन् । उनीहरुले स्थानीय सरकारले समेत पर्यटन प्रवर्धनको क्षेत्रमा विकास गर्ने थप योजना अघि सार्नुपर्ने बताउँछन् ।

अहिले स्थानीय सरकारले फलामेसाँघु, नारायणटार, चण्डीबेँसी, चण्डीडाँडा र काफलडाँडा जस्ता पर्यटकीयस्थललाई लक्ष्य गरेर विभिन्न योजना ल्याउनुपर्ने उनीहरुको माग छ । यी स्थानहरुले विस्तारै मुहार फेर्दै जानेमा विश्वस्त रहेका स्थानीयवासीले तर विकासका कार्यक्रम बिना यो सम्भव नभएको भन्दै यसका लागि प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउने बताउँछन् ।

काफलडाँडाका स्थानीयवासी वीरबहादुर मगर भन्छन्, ‘पहिला निकै विकटका कारण जीवन गुजाराको लागि समेत कठिन अवस्था व्यहोर्नुपर्ने अवस्था थियो तर अब भने यहाँका आकर्षक पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेपछि यो ठाउँको पनि विकास हुन्छ कि भन्ने आशा पलाएको छ ।’ उनको सुझाव छ, ‘तर त्यसै या आफै त कहीँको पनि विकास हुँदैन, स्थानीय नागरिक लाग्नुपर्छ र त्यसमा स्थानीय सरकारको पनि साथ र योजना चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्