माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भन्ने अवस्थामा पुगें


७ आश्विन २०७७, बुधबार
prachanda madhav nepal jhalanatha khanal

काठमाडौं, ७ असोज । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भने जस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि शीर्ष नेताको सम्झौताले देशले व्यहोर्नै लागेको अनिष्टबाट मुक्ति पाएको खुलासा भर्खरै भएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले के–के र कस्ता–भित्री सम्झौता गरे भन्ने कुराको घुनपुत्लो केलाउने क्रममा यस्तो कुराको खुलासा भएको हो । शंका थियो, झलनाथ र माधवलाई धोका दिएर प्रचण्डले केपीसँग एक्ला एक्लै लेनदेनका कुरा गरे ।

हैन भने किन एकाएक प्रधानमन्त्री हटाउने सहमतिबाट पछि हटे ? यी प्रश्नसाथ करिव आधा दर्जन नेकपा नेताबीच चलेको गम्भीर छलफलका क्रममा प्रचण्डले सुनाएको प्रसङ्ग हो यो ।

जतिबेला पार्टीको ९ सदस्यीय सचिवालयभित्र प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिनु पर्दैन भन्नेमा ईश्वर पोखरेल मात्र थिए, संसदीय दल, स्थायी र केन्द्रीय कमिटीमा पनि त्यही गणित निस्कियो– यस्तो स्थितिमा प्रधानमन्त्री ‘ना रहे बाँस, ना बजे बाँसुरी’ को रणनीति साथ अग्रसर भइसकेको एउटा प्रसङ्ग प्रचण्डले सुनाए । अर्थात्, कानुन, संविधान र परिस्थिति भाँडमै जाओस्, तर संसद भङ्ग गर्दै संकटकाल लागु गरेर अगाडि बढ्ने ।

यो काम गरिहाल्नुपर्छ भन्नेमा कर्ण थापा, महेश बस्नेत, गोकुल बाँस्कोटा जस्ता भित्रियाहरूको अचम्मको उक्साहट थियो । कर्णले त भाषण नै गरेका थिए, ‘बरु मुलुक भाँडमा जाओस्, तर कुनै हालतमा केपी हट्दैनन् ।’ तर, यो सुल्टो बाटो हुँदैन, देशकै लागि उल्टो र आत्मघाती हुन्छ भन्नेमा थिए– शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङहरू ।

यस्तो सूचना सबैतिर दिँदै कुरा गर्ने अवस्था पनि थिएन । त्यसमाथि माधव, झलनाथलाई पुस्तैनी दुष्मनझैं ठान्ने प्रवृत्ति छ । त्यसैले शंकर, प्रदीप, विष्णु, पृथ्वीमध्येका नेताले प्रचण्डलाई सबै कुराको बेलिविस्तार लगाए ।

उक्त छलफलका क्रममा प्रचण्डले भने, ‘मूर्खदेखि दैव डराउँछ भने जस्तो अवस्थामा म पुगें । त्यो काम रोक्नका निम्ति भए पनि अलिकति पछाडि हट्नु परेको हो । माधव, झलनाथजीहरू तर्सिनु पर्दैन । तपाईंहरू नहुँदा म के हुन्छु भन्ने पनि बुझिसकेको छु । यसकारण मबाट जानाजान धोका हुन्छ भन्ने त कल्पना पनि नगर्नुस् ।’

उनले केपी ओली दृष्टिकोणविहीन नेता भएको र हावादारी मानिसहरूको हुल जम्मा पारेर उनीहरूकै उक्साहटमा चल्ने शैलीबाट आफू आजित भएको भन्दै माधव नेपालसँग शान्ति प्रक्रियाको प्रारम्भकालदेखि काम गरेको स्मरण पनि गरेको बताइन्छ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७