चीनले नाका नखोल्दा २० अर्बका सामान केरुङ र ल्हासामा अड्किए

नेपाल सरकारको पटक–पटकको आग्रहलाई चीनले सुनेन


प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार ००:००

रसुवा, ८ असोज । अन्तर्राष्ट्रिय कानुन तथा मान्यता विपरीत चीनले नेपालसँग जोडिएका व्यापारिक नाका बन्द गर्दा झन्डै २० अर्ब रुपैयाँबराबरका सामग्री केरुङ र ल्हासामा अड्किएका छन् ।

नेपाल–चीनबीच सञ्चालनमा रहेका रसुवागढी–केरुङ र तातोपानी–खासा नाका अहिले लगभग बन्द अवस्थामा छन । अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द हुँदा चीन र चीन हुँदै गरिने नेपालको आयात–निर्यात नराम्रोसँग प्रभावित भएको छ ।

११ चैतमा लकडाउन सुरु हुनुभन्दा करिब दुई महिनाअघिदेखि नै नेपाल–चीनका दुवै नाका बन्द अवस्थामा थिए । माघ पहिलो साताबाट बन्द भएका दुवै नाका चैतको अन्तिम साताबाट एकतर्फी रूपमा सञ्चालनमा आएका थिए । तर, कोभिड–१९ को जोखिम र बाढीपहिरोका कारण नाका पूूर्ण रूपमा सञ्चालनमा आउन सकेनन् ।

एकतर्फी रूपमा सञ्चालन हुँदै आएको केरुङ नाका १६ भदौदेखि पूर्ण रूपमा बन्द छ भने तातोपानी नाका २५ असारदेखि बन्द छ । चीनले कोभिड–१९ को जोखिम देखाउँदै केरुङ नाका खोलेको छैन । तातोपानी नाका भने चीनतर्फ ताल फुट्ने जोखिम रहेको र बाढीपहिरोले बाटो बिगारेको कारण देखाउँदै सञ्चालनमा ल्याइएको छैन ।

नेपालले दुवै नाका सञ्चालनका लागि आग्रह गर्दै आए पनि चीनले मानेको छैन । सम्बन्धित जिल्लाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवसम्मले नाका पूर्ण रूपमा खोलेर अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरिरहेका छन् । तर, चीनले कोभिडको जोखिम रहेको भन्दै आलटाल गर्दै आएको छ ।

दुवैतर्फका नाका नखुल्दा नेपाली व्यवसायीले चीनबाट र चीन हुँदै ल्याएका फलफूल, जुत्ता–चप्पल, तयारी पोसाक, मेसिनरी, विद्युतीय सामग्रीलगायत अड्किएको व्यवसायीले बताएका छन् । लामो समयदेखि नाका बन्द हुँदा एकातर्फ नेपालको बजार प्रभावित भएको छ भने अर्कातर्फ विकास निर्माणका काम समेत रोकिएका छन् ।

अहिले ल्हासा, मेलम र केरुङमा नेपाली व्यवसायीका १५ सयभन्दा बढी कन्टेनर अड्किएको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए । गोदाममा ठाउँ नहुँदा खुला आकाशमुनि त्रिपाल ओछ्याएर र त्रिपाल ओढाएर सामान राख्नुपरेको उनले बताए । कतिपय सामग्री फर्काएर सामुद्रिक बाटोबाट ल्याउन थालिएको उनको भनाइ छ ।

‘करिब एक वर्षदेखि ल्हासा र केरुङमा नेपाली व्यवसायीका करिब २० अर्ब रुपैयाँ बराबरका १५ सय कन्टेनरभन्दा बढी सामग्री अड्किएका छन्,’ पौडेलले भने, ‘विगतमा स्याउ कुहियो, अहिले पनि अन्य सामग्री बिग्रने अवस्था आइसक्यो । गोदाममा ठाउँ नहुँदा त्रिपाल ओढाएर सामग्री राख्नुपरेको छ ।

तातोपानी र केरुङ दुवै नाकाबाट दैनिक ३०–३० गाडीका दरले सामग्री छाड्दा तत्काललाई समस्या समाधान हुने देखिन्छ । दैनिक ५०–६० ट्रक सामग्री मितेरीपुलमा ल्याएर अनलोड गरिदिएमा त्यहाँबाट नेपालीले लोड गरेर ल्याउने थिए ।’ उनले भने, ‘यसो गर्दा चिनियाँ पक्ष र नेपाली पक्षबीच प्रत्यक्ष सम्पर्क पनि हुँदैन र कोरोनाको जोखिम हुँदैन, व्यापार पनि सहज हुन्छ ।’

चीनले अन्तर्राष्ट्रिय कानुन र मान्यता, दुुई मुलुकबीचको सम्बन्ध र मानवीयताका आधारमा पनि नाका पूर्ण रूपमा खोल्नुपर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् ।

नाका एकतर्फी खुला, निर्यात ठप्प
चीनले कोभिड–१९ पछि एकतर्फी रूपमा मात्रै नाका सञ्चालन गर्दै आएको छ । नेपाली र नेपाली वस्तुलाई निषेध गरिएका कारण नेपालको निर्यात ठप्प छ । साउनमा १ अर्ब १२ करोडका सामग्री आयात हुँदा निर्यात भने १ रुपैयाँ पनि भएको छैन ।

कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरीपुलसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउने व्यवस्था गरिएको छ । यसरी दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले सो नाकामा कन्टेनरको लाइन लागेको हो ।

१६ भदौदेखि बन्द केरुङ नाका बिहीबारदेखि एकतर्फी र आंशिक मात्रै सञ्चालनमा आउने भएको छ । बुधबार एक ट्रक औषधि नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । तातोपानीतर्फ भने कहिले खुल्ने निश्चित नभएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबाबु खत्रीले बताए । तर, छिट्टै खुल्ने सम्भावना रहेको उनको भनाइ छ । भारतपछि चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो । नेपालको कुल आयात व्यापारमा १५.२ प्रतिशत र निर्यात व्यापारमा १.२ प्रतिशत हिस्सा चीनको छ ।

दैनिक ६० ट्रक सामान आउनुपर्छ : बच्चु पौडेल, अध्यक्ष, नेपाल हिमालय सीमापार व्यापार संघ
अन्तर्र्राष्ट्रिय कानुन र मान्यताविपरीत अन्तरदेशीय व्यापारिक नाका बन्द हुँदा नेपाली व्यवसायीले करोडौँ नोक्सान व्यहोरिरहेका छन् ।

करिब एक वर्षदेखि ल्हासा र केरुङमा नेपाली व्यवसायीका करिब २० अर्ब रुपैयाँबराबरका १५ सय कन्टेनरभन्दा बढी सामग्री अड्किएका छन् ।
यो समस्या समाधानका लागि दैनिक ६० गाडी चीनले पठाउनुपर्छ । हामीले नाका खोल्ने ठोस पहल गर्न वाणिज्य र परराष्ट्र मन्त्रालयलाई पटक–पटक आग्रह गर्दै आएका छौँ । तर, नाका खुल्न सकेको छैन ।

प्रभावकारी कूटनीतिक पहल भएन : पुरुषोत्तम ओझा, पूर्ववाणिज्य सचिव

चीनले लामो समयदेखि नाका अवरुद्ध गर्नु पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनका आधारमा र मानवीय हिसाबले पनि होइन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नाका सञ्चालनमा ल्याउनुपर्छ, अन्तरदेशीय व्यापारलाई सहजीकरण गर्नुपर्छ ।

चीनमा राजदूतावास र महावाणिज्यदूत गरी चारवटा कूटनीतिक निकाय छन् । तर, लामो समयसम्म नाका बन्द हुँदा पनि ती कूटनीतिक निकायले नाका खोल्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको देखियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्