‘अति भारी’ बर्षाको सम्भावना, यी प्रदेशमा जोखिम रहेकाले सतर्क रहन आग्रह

नारायणी र तिनाउ नदीको जल सतहले विहानै खतराको तह पार गर्‍यो


८ आश्विन २०७७, बिहीबार
rain

काठमाडौं, ८ असोज । नेपालमा फेरि सक्रिय बनेको मनसुनका कारण देशभर बर्षा भइरहेको छ । आज (बिहीबार) पनि देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित ‘अति भारी’ बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज र भोलि देशभरि नै वर्षा हुने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । उनले भनिन्, ‘एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही स्थानमा अति भारी वर्षाको सम्भावना पनि छ ।’

बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा न्यून चापीय क्षेत्र रहेको छ । साथै यो न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेको जनाएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

प्रदेश– १, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५ र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५ र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा ६०.५ मिलमिटर वर्षा रेकर्ड भएको मौसमविद मानन्धरले जानकारी दिएकी छिन् । अन्य स्थानको अध्यावधिक विवरण भने आउन बाँकी रहेको मौसमविद मानन्धरले बताइन् ।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेको छ । त्यसैले नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी र तिनाउ नदीमा ठूलो बाढी, सतर्क रहन आग्रह
नारायणी, तिनाउलगायतका नदीमा आज (बिहीबार) विहानै जल सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

n

रुपन्देहीको तिनाउ नदीमा बाढी आएर जल सतहले खतरा तह पार गरेको छ । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा ठाउँमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन भनिएको छ । त्यस्तै नारायणी नदीमा बाढी आएको छ ।

देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको साथै बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७