स्याङ्जा र पाल्पामा पहिरो : शिशुसहित ११ को मृत्यु, पाँच बेपत्ता


९ आश्विन २०७७, शुक्रबार
waling

स्याङजा, ९ असोज । स्याङ्जा र पाल्पाका विभिन्न स्थानमा पहिरो जाँदा ६ महिने शिशुसहित ११ जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका एक जनाको जीवितै उद्धार गरिएको छ ।

बिहीबार बिहान ६ बजे खसेको पहिरोले घर पुरिँदा स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीका एकैपरिवारका नौजनाको मृत्यु भएको छ । पहिरोमा घर पुरिँदा तमादीकी ६० वर्षीया सानी नेपाली र उनको परिवारका आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

मृत्यु हुनेमा वृद्धा सानीसँगै ४८ वर्षीया माया, ३० वर्षीय दीपक, २८ वर्षीया उमाकला, १९ वर्षीय विनिता, २१ वर्षीय कुलदीप, १४ वर्षीय विक्रम, नौ वर्षीय विवश र ६ महिने समीर रहेका छन् । दीपक, कुलदीप, विक्रम र विवश मायाका छोराछोरी र विनिता बुहारी हुन् । पाल्पा घर भएकी मायाकी छोरी उमाकला बुधबार माइतीघर आएकी थिइन् । पहिरोमा ज्यान गएका शिशु कुलदीप विनिताका छोरा हुन् ।

त्यस्तै, मायाकी छोरी १६ वर्षीया मनीषालाई जीवितै उद्धार गरिएको छ । उनी गम्भीर घाइते भएकी छिन् । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको छ । उनको अवस्था सुधारोउन्मुख रहेको डिएसपी अधिकारीले बताए ।

स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडामा पहिरो जाँदा बिहीबार बिहान २ बजे बाबुराम दमाईं र जगतबहादुर दमाईंको घर पहिरोले पुरिएको छ । घर पुरिँदा बाबुरामका छोरा १६ वर्षीय विष्णुको मृत्यु भएको छ ।

यस्तै, पाल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार रम्भा गाउँपालिका– २ सुरुमडाँडामा पहिरोले घर पुरिँदा २७ वर्षीया मोतिसरा गाहाको मृत्यु भएको छ । उनका पति वीरबहादुर पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाउन सफल भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषकुमार भट्टराईले बताए ।

त्यस्तै, रम्भा गाउँपालिका– २ कै फोक्सिङकोटस्थित बेलौजामा बिहीबार बिहान ४ बजे खसेको पहिरोमा पुरिएर पाँचजना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा ६० वर्षीय हुमबहादुर गाहा, उनकी पत्नी ५० वर्षीय धनीसरा, छोरी १७ वर्षीया कृष्ण, नातिनीहरू आठ वर्षीया लक्ष्मी र १४ वर्षीय खुमीसरा बेपत्ता भएका छन् । केहीको कपडा टाढाबाट देखिए पनि बिहीबार अबेर रातिसम्म उद्धार हुन सकेको छैन ।

घटनास्थल पुगेका गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले पहिरो खस्ने क्रम जारी रहेकाले उद्धार गर्न नसकिएको बताए । पाँच घन्टा हिँडेर घटनास्थल पुगेको बताउँदै अध्यक्ष भण्डारीले भने, ‘पुरिएकाहरूको खोजी गर्ने काम भइरहेको छ । उनीहरू सुतेको बिस्तारा त भेटियो, तर मान्छे भेटिएलान् भन्ने वेलामा फेरि अर्काे घर पहिरोले पुरियो । उद्धार गर्न कठिन भयो ।’

जिल्ला सदरमुकामबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठाउँठाउँमा गएको पहिरो पन्छाउन नसकेर घटनास्थल पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पाल्पाका एसपी भट्टराईले उद्धारका लागि शुक्रबार बिहानै मात्रै घटनास्थल पुगिने बताए । ‘म बिहान ६ बजे नै टोली लिएर हिँडेको थिएँ, तर धेरै ठाउँमा पहिरो गएका कारण घटनास्थलमा पुग्न सकिनँ । भोलि मात्रै पुग्न सकिन्छ,’ एसपी भट्टराईले भने ।

बेलौजामा पहिरोले छेउका दुई घर पनि पुरिएका छन् । हुमबहादुरको घर पुरिँदा छेउको घरका बासिन्दा भागिसकेकाले जोगिएका छन् । त्यस्तै, बेलौजाका अन्य १७ परिवार विस्थापित भएका छन् । पहिरो जाने क्रम नरोकिएकाले १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

तिनाउ खोलाको बाढीले चार परिवार विस्थापित

तिनाउ र दानव खोलामा आएको बाढीले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्तापुरका चार परिवार विस्थापित भएका छन् । उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।

तिनाउ र दानव खोलाको बाढी बढ्दै गएको र नजिकका चार घर बगाउने जोखिम बढेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक तेज पोख्रेलले बताए । सशस्त्रका सइ सहदेव सापकोटा नेतृत्वको टोलीले चारै घरका अन्नपात, सरसामान र बस्तुभाउ पनि सारेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७