नौ जनाको सामुहिक दाहसंस्कार, दागबत्ति दिनेसम्म परिवारभित्र कोही भएनन्


९ आश्विन २०७७, शुक्रबार
waling pahiro

स्याङजा, ९ असोज । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामुहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामुहिक दाहसंस्कार गरिएको हो ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकै घरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए ।

‘पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गह्राैं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौं’, अध्यक्ष रनपालले भने ।

एकै परिवारका नौ जनाको एकै पटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए । दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७