हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो


९ आश्विन २०७७, शुक्रबार

हुम्ला, ९ असोज । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो ।

चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित छैन । अहिले नाम्खा गाउँपालिका–६, लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आउँदा लिमीका अग्ला पाटनमा खोजी गर्ने क्रममा हराएको सीमास्तम्भ भेटाएको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सीधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्क समेत नहुने उक्त स्थानमा प्रजिअको टोलीले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमास्तम्भ खोजी गर्न पठाएको थियो ।

टोलीले बुधबार बेलुका मात्र सो सीमास्तम्भ भेटाएको अध्यक्ष लामाले बताउनुभयो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको थियो । हिल्सा नाकाभन्दा झण्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो ।

११ नम्बर सीमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका–६, लाप्चाक्षेत्र (लोलुङजोङ) मा भवनहरू बनाएको भनेर विवाद बाहिर आएको थियो । यद्यपि नेपाल सरकार र चीनले सो भवनहरू चिनियाँ भूमिमै बनाइएको स्पष्ट गरिसकेका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७