ओली–प्रचण्डबीच बालुवाटारमा छलफल, यस्ता छन् तीन एजेण्ड


९ आश्विन २०७७, शुक्रबार
kp oli prachanda scaled

काठमाडौं, ९ असोज । पार्टीभित्रको विवाद अन्त्य भएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट, छलफल र परामर्श बाक्लिँदै गएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षबीचको कार्यविभाजन स्पष्ट भएसँगै दुई अध्यक्ष पार्टी र सरकारका काम कार्वाही छलफल र परामर्शका आधारमा अघि बढाउन थालेका छन् ।

यसै शिलशिला अन्तर्गत आज (शुक्रबार) पनि नेकपाका दुई अध्यक्ष समसामयिक विषयवस्तुमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका छन् । बिहान १० बजेदेखि जारी छलफलमा मन्त्रिपरिषद् हेरफेर, पार्टी एकताका बाँकी रहेका काम, संवैधानिक नियुक्तिलाई पूर्णता दिने विषयमा सघन वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ ।

गत भदौ २६ गते सकिएको पाँचौं स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो । असोज ४ गते पेरिसडाँडामा बसेको ६८औं सचिवालय बैठकमा नीतिगत छलफल पनि भएको थियो ।

अब मन्त्रिपरिषद् हेरफेरको समय नजिकिएको पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । मन्त्रिमण्डल फेरबदका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको भए पनि साझा धारणा भने बनिनसकेको स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड अहिलेको मन्त्रिमण्डलमा प्रधानमन्त्री बाहेक सबै मन्त्रि परिवर्तनको पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष ओली केहिलाई राखेर बाँकी परिवर्तन गर्ने सोंचमा रहेको स्रोतले बताएको छ ।

त्यस्तै अध्यक्षद्वय ओली, प्रचण्डले संवैधानिक नियुक्ति र एकताका बाँकी काम टुंग्यान गृहकार्य गरिरहेको स्रोतको दाबी छ । नेकपामा ३२ विभाग, ५ निकाय (अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्), जनसंगठनहरू, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।

केही केन्द्रीय सदस्यको जिम्मेवारी पुनरावलोकनका लागि पनि स्थायी कमिटी बैठकले अनुमति दिइसकेको छ । संवैधानिक निकायमा रिक्त रहेका ४० पद शीघ्र पूर्ति गर्न पनि असोज ५ गते बालुवाटारमा सकिएको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७