ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण


प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ००:००

ललितपुर, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।

बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।

‘जिउ कटकटी दुख्ने, टाउको दुख्ने समस्या भएपछि स्वाब दिएको थिएँ, रिपोर्ट पोजेटिभ आयो, ‘महर्जनले भने, ‘मेरो सम्पर्कमा रहनु भएका सबैलाई सचेत रहनु हुन अनुरोध गर्दछु ।’

सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताएका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । मेयर शाक्यलाई भदौ १५ गते कोरोना पुष्टि भएको थियो भने भदौ २८ गते उनी कोरोनामुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्