बजाज र टिभिएसका सवारी साधनको उत्पादन नेपालमै सुरु, यामाहा र होन्डा पनि तयारीमा


१० आश्विन २०७७, शनिबार
auto

काठमाडौं, १० असोज । नेपाल बिस्तारै सवारीसाधन आयातकर्ता मुलुकबाट उत्पादक बन्नेतर्फ अघि बढेको छ । दुई चर्चित मोटरसाइकल ब्रान्डहरू बजाज र टिभिएसले नेपालमै मोटरसाइकल तथा स्कुटर उत्पादन सुरु गरेसँगै अटोमोबाइल उत्पादनमा नेपालको यात्राले गति लिएको हो ।

व्यावसायिक घराना शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले टिभिएस ब्रान्डका मोटरसाइकल, स्कुटर र तीनपांग्रे टेम्पो नेपालमा उत्पादन गर्न सुरु गरेको छ । अग्रणी औद्योगिक घराना गोल्छा ग्रुपअन्तर्गतको हुलास अटोक्राफ्टले नेपालमा बजाजका बाइक एसेम्बल गर्न थालेको दुई वर्ष भइसकेको छ । होन्डा र यामाहा ब्रान्डका दुईपांग्रे सवारीसाधन समेत केही समयपछि नै मुलुकभित्रै उत्पादन सुरु हुनेछन् ।

शंकर र गोल्छा ग्रुप मात्रै होइन, पछिल्ला पाँच आर्थिक वर्षमा नेपालमा सवारीसाधन एसेम्बल गर्ने उद्देश्यसहित २५ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगले कुल १८ अर्ब ६ करोड ८९ लाख रुपैयाँ लगानीका लागि स्वीकृति लिएको लगानी बोर्ड तथा उद्योग विभागको तथ्यांक छ ।

मोटरसाइकल, स्कुटर, कार, भ्यान, ट्रक, ट्र्याक्टरलगायत विभिन्न प्रकारका विद्युतीय तथा पेट्रोल–डिजेल सवारीसाधन एसेम्बलका लागि ती कम्पनीले अनुमति लिएका हुन् । दशकौँदेखि अटोमोबाइल आयातको व्यवसाय गरिरहेका औद्योगिक घरानाहरू अब उत्पादनमै आकर्षित हुन थालेका छन् ।

जगदम्बा मोटर्सले बाराको सिमरामा रहेको उद्योगबाट मोटरसाइकल तथा टेम्पो उत्पादन सुरु गरिरहेको छ । उद्योग विभागमा भएको तथ्यांकअनुसार यस उद्योगमा २४ करोड ५५ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरिएको छ ।

सिमरामा पाँच बिघा क्षेत्रफलमा टिभिएसको एसेम्बल प्लान्ट उद्योगमा हालसम्म १ अर्ब लगानी गरेको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘हाम्रो प्लान्टबाट वार्षिक १ लाख बाइक तथा स्कुटर र १० हजार तीनपांग्रे टेम्पो उत्पादन गर्न सकिन्छ ।’

उद्योगले सुरुवाती चरणमा प्लान्टबाट अपाचे बाइक, स्कुटर र तीनपांग्रे टेम्पो उत्पादन हुने उनले बताए । ‘हामीले काम गर्दै, सिक्दै अगाडि बढ्ने हो, नेपालकै जनशक्तिलाई तालिम दिएर दक्ष बनाउँदै काममा लगाउँछौँ,’ उनी भन्छन्, ‘भर्खर उत्पादन सुरु भएको छ, उद्योग पूर्ण क्षमतामा चल्न अझै समय लाग्छ ।’

हुलास अटोक्राफ्टले नवलपरासीमा रहेको एसेम्बल प्लान्टबाट बजाजका विभिन्न मोडलहरू उत्पादन गर्दै आइरहेको छ । कुल २४ करोड लगानी रहेको यस उद्योगले मोटरसाइकल १२५ सिसी (ड्रम)का ४ हजार, मोटरसाइकल १२५ सिसीका ४ हजार र मोटरसाइकल १५० सिसीका १० हजार थान एसेम्बल गर्ने क्षमता राख्छ ।

आधुनिक उद्योगबाट बजाज बाइकसँगै तीनपांग्रे आरई टेम्पो पनि उत्पादन भइरहेको छ । दुईवटा ठूला घरानाले स्वदेशमै बाइक तथा स्कुटर एसेम्बल गर्न थालेपछि अटोमोबिल इन्डस्ट्रिजमा केही आशा पलाएको व्यवसायी बताउँछन् ।

होन्डाका गाडी तथा मोटरसाइकल आयात गर्दै आएको ज्योति समूहले स्वदेशमै उत्पादन उद्योग खोल्ने तयारी गरिरहेको छ । त्यस्तै, एमएडब्लू इन्टरप्राइजेजले यामाहा बाइकका केही मोडेल एसेम्बल गर्ने जनाइसकेको छ । नेपालमा हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी समूहले हुन्डाई गाडी नेपालमै एसेम्बल गर्न नवलपरासीमा उद्योग नै दर्ता गरिसकेको छ ।

गाडी उत्पादनका लागि कोरियाको हुन्डाई मोटर्स कम्पनीसँग एमओयू गरिसकेको लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘यदि कोभिड महामारी नफैलिएको भए हामीले सन् २०२२ सम्म गाडी उत्पादन नै गर्ने तयारी थालेका थियौँ ।’

कतिपय कम्पनी भने राजस्व छुट तथा अन्य सहुलियतको पर्खाइमा छन् । सरकारले पर्याप्त सहुलियत दिएमा तत्कालै होन्डाको एसेम्बल प्लान्ट स्थापना गर्ने स्याकार ट्रेडिङ प्रालिका अध्यक्ष सौरभ ज्योति बताउँछन् । उनी भन्छन्, ‘नेपालमै उत्पादन गर्दा लागत कम पर्ने अवस्था भएमा तत्काल उद्योग स्थापना गर्छौँ ।’

कोरियन कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले सन् २०१९ मै लगानी बोर्ड नेपालबाट सवारीसाधन एसेम्बल उद्योगका लागि अनुमति लिएको हो । मोट्रेक्सले वार्षिक ५० हजार सवारीसाधन एसेम्बल गर्ने गरी १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्नेछ । यो पूर्ण विदेशी स्वामित्वको कम्पनी हुनेछ ।

मोट्रेक्सपछि ठूलो सवारीसाधन एसेम्बल गर्ने उद्देश्यसहित दर्ता भएको ठूलो उद्योगमा लक्ष्मी मोटर कर्पोरेसन प्रालि रहेको छ । लक्ष्मी ग्रुपअन्तर्गतको यस कम्पनीले वार्षिक ८ हजार थान सवारीसाधन एसेम्बल गर्ने गरी नवलपरासीको रामग्राममा उद्योग स्थापना गर्ने जनाएको छ । उद्योगमा कुल ५ अर्ब १० करोड लगानी प्रस्ताव गरिएको छ । यसले कुल ४ सय ४० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ । यो पूर्ण रूपमा स्वदेशी स्वामित्वको उद्योग हो ।

बाराको सिमरामा जगदम्बा मोटर्सको प्लान्टमा मोटरसाइकल, स्कुटर र तीनपांग्रे टेम्पो उत्पादन भइरहेका छन्
अर्को औद्योगिक घराना एमएडब्लूले भने यामाहाका दुईपांग्रे सवारी एसेम्बल गर्ने गरी प्रक्रिया सुरु गरेको छ । एमएडब्लू अटो प्रालिका नाममा दर्ता भएको यस उद्योगले मोरङको कटहरीमा कारखाना स्थापना गरिरहेको छ । कुल १३ करोड ६० लाख लगानी रहने यस उद्योगले वार्षिक ५० हजार थान मोटरसाइकल र ५ हजार थान स्कुटर एसेम्बल गर्नेछ ।

उदाउँदै स्वदेशी ब्रान्डहरू

सरकारले अनुदान र कर छुट दिएमा स्वदेशमै बाइक एसेम्बल गर्न तयार रहेको क्रसएक्स (सिएक्स) ब्रान्डको डटबाइकका संस्थापक पासाङ खम्बाचे शेर्पा बताउँछन् । सिएक्स नेपाली ब्रान्डको डटबाइक हो ।

अहिले सिएक्स बाइक चीनमा एसेम्बल गरेर ल्याइरहेको उनले बताए । कुनै समय मुस्ताङ म्याक्स ब्रान्डमा स्वदेशमै गाडी उत्पादन गर्दै आइरहेको गोल्छा परिवारकै हुलास मोटर्स प्रालिले अहिले हुलास ब्रान्डमै इलेक्ट्रिक रिक्सा उत्पादन गरिरहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छा भन्छन्, ‘बीचमा हामीले विद्युतीय कार उत्पादन गर्ने तयारी गरेका थियौँ, तर सरकारले स्वदेशी उद्योग प्रवद्र्धन गर्ने स्थिर खालको नीति नल्याउँदा अहिले पर्ख र हेरको अवस्थामा छौँ ।’ सरकारकै असहयोगी नीतिका कारण मुस्ताङ म्याक्स गाडीको उत्पादन बन्द गर्नुपरेको उनको गुनासो छ ।

४ पुस ०७६ मा सातजना नेपाली युवाहरूको टोलीले नेपालमै बनाएको विद्युतीय मोटरसाइकल सार्वजनिक गरेका थिए । ‘यात्री’ नाम दिइएको मोटरसाइकलको सम्पूर्ण पार्टपुर्जा नेपालमै डिजाइन गरिएको हो । सरकारले विदेशबाट पार्टपुर्जा ल्याउँदा भन्सार र अन्तःशुल्कमा छुट दिएमा सस्तो मूल्यमै विद्युतीय मोटरसाइकल उत्पादन गर्ने उनीहरूको दाबी छ ।

उनीहरूले मोटरसाइकलका कतिपय पार्टपुर्जा नेपालमै बनाएका हुन् भने कतिपय पार्टपुर्जा नेपालमा उत्पादन गर्न करोडौँको उद्योग स्थापना गर्नुपर्ने भएकाले विदेशबाटै ल्याउनुपर्‍यो । दुई वर्ष लगाएर बनाएको मोटरसाइकल एक पटकको फुल चार्जमा २ सय ३० किलोमिटर कुद्ने कम्पनीका संस्थापक असीम पाण्डेको दाबी छ ।

त्यस्तै, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको परिसरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले भविष्यमा विद्युतीय गाडी बनाउने लक्ष्य लिएको छ । केन्द्रका संस्थापक महावीर पुन भन्छन्, ‘पुरानो गाडीलाई स्वदेशमै इलेक्ट्रिक गाडीमा परिणत गर्ने काम पनि अन्तिम चरणमा छ । अहिले एक–दुई पार्टपुर्जा विदेशबाट आइनसकेको हुनाले काम रोकिएको छ ।’ उनले मगाएका पार्टपुर्जा कोभिड महामारीका कारण चीनको केरुङ भन्सारमा अड्किएका छन् ।

पार्टपुर्जा नेपालमै उत्पादन गर्न सकिन्छ

बाइकका धेरै पार्टपुर्जा नेपालमै उत्पादन गर्न सकिन्छ । यदि केही पार्टपुर्जा स्वदेशमै उत्पादन गरेर भ्यालु एड गर्न सकिएमा पनि मूल्य घटाउन सकिने ज्योति बताउँछन् । तर, त्यसका लागि नयाँ लगानी गरेर अर्को सपोर्टेड उद्योग खोल्नुपर्ने हुन्छ ।

‘टायर, इलेक्ट्रिक वायर, मोल्डिङ पार्टस्, ह्यान्डिल, लेगगार्ड, स्ट्यान्ड, इन्जिन च्यासिस वेल्डिङलगायत नेपालमै उत्पादन गर्न सकिन्छ,’ ज्योति भन्छन्, ‘यसरी भ्यालु एड गर्दा मुलुकभित्र थुप्रै सपोर्टेड उद्योगहरू पनि खुल्दै जान्छन् र प्रशस्त रोजगारी पनि सिर्जना हुन्छ ।’

एसेम्बल उद्योगलाई केही हदसम्म ‘लोकलाइज’ गर्न सकेमा यहाँ थप उद्योग खुल्ने मात्रै नभई सवारीसाधनको मूल्यसमेत घट्न सक्ने अग्रवाल बताउँछन् । अग्रवालका अनुसार बंगलादेशले एसेम्बल प्लान्टलाई ३० प्रतिशतसम्म अनिवार्य लोकलाइज गर्नुपर्ने नीति लिएको छ । ‘नेपालमा पनि सरकारले सहयोग गरेमा दीर्घकालमा एसेम्बल उद्योगलाई ३० प्रतिशतसम्म लोकलाइज गर्न सकिन्छ,’ उनी भन्छन् ।

जगदम्बा मोटर्सको उद्योगमा अहिले कोभिडको कहरबीच ७५–८० जनाले काम गरिरहेका छन् । बिस्तारै उद्योग फुल फ्लेजमा चल्न थालेपछि कर्मचारी पनि ४–५ सय पुग्ने अग्रवाल बताउँछन् । स्वदेशमै प्लान्ट स्थापना गरी गाडी तथा बाइक एसेम्बल गर्दा बिदेसिन बाध्य इन्जिनियरलाई रोक्न सकिन्छ ।

मूल्य घट्छ ?

स्कुटर तथा बाइक स्वदेशमै एसेम्बल भए पनि पुरानै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको जगदम्बा मोटर्सका अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘सरकारले राजस्वमा दिएको सहुलियत पर्याप्त नभएको हुनाले स्वदेशमै उत्पादन थाले पनि मूल्य घटाउन सकिने अवस्था छैन ।’ दुई वर्षअघि उत्पादन सुरु गरेको बजाजले पनि इन्डियाबाट आयात गर्दा लाग्ने मूल्यमै बाइक बिक्री गरिरहेको छ ।

अहिले विदेशबाट मोटरसाइकल आयात गर्दा ४० प्रतिशत अन्तःशुल्क तिर्नुपर्छ । सरकारले स्वदेशमै एसेम्बल गर्दा बाइक तथा स्कुटरको अन्तःशुल्कमा २५ प्रतिशत र गाडी–टेम्पोमा ५० प्रतिशत छुट दिने नीतिगत व्यवस्था गरेको छ ।

विदेशबाट तयारी गाडी तथा बाइक आयात गर्दा एकपटक अन्तःशुल्क तिर्दा हुन्थ्यो । नेपालमै पार्टपुर्जा ल्याएर एसेम्बल गर्दा दुईपटक अन्तःशुल्क तिर्नुपर्ने लक्ष्मी हुन्डाईका निर्देशक श्रेष्ठ बताउँछन् । अग्रवाल भन्छन्, ‘अहिलेको छुटले बाइकको मूल्यमा दुई–अढाई प्रतिशत मात्र कम पर्न जान्छ, स्वदेशमा उत्पादित बाइकको मूल्य घटाउन अन्तःशुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७